देश

इजरायलमा नेपालीहरू सुरक्षित छन् : दूतावास

काठमाडौं । इजरायलमा रहेका नेपालीहरु सुरक्षित रहेको त्यहाँस्थित नेपाली राजदूतावासले जनाएको छ । दूतावासले प्रेस विज्ञप्ति जारी गर्दै इजरायलका विभिन्न क्षेत्रमा इरानले मिसाइल तथा ड्रोन आक्रमण गरेको भएपनि नेपालीहरू भने सुरक्षित रहेको जानकारी दिएको हो ।

‘इजरायलका विभिन्न क्षेत्रमा इरानले मिसाइल तथा ड्रोन आक्रमण गरेको छ । सो आक्रमणबाट यहाँ बसोबास गर्ने नेपाली नागरिकहरुलाई कुनै असर नपरेको र सबै नेपालीहरु सकुशल अवस्थामा रहुनुभएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध गरिन्छ,’ दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

आइतबार बिहानैदेखि इरानले इजरायलको राजधानी तेल अविवलगायत क्षेत्रमा आक्रमण गरिरहेको छ । यसअघि दूतावासले सार्वजनिक सूचना जारी गरी आफ्नो सुरक्षाको ध्यान दिन र स्थानीय सुरक्षा प्रोटोकलको पालना गर्न र अत्यावश्यक अवस्थामा बाहेक घरबाट बाहिर ननिस्कन अनुरोध गरिसकेको छ ।

सूचनामा कुनै समस्या परेको खण्डमा दूतावासका द्वितीय सचिव कुमारबहादुर श्रेष्ठलाई ०५२८२८९३०० र सहचारी सञ्जयकुमार साहलाई ०५४५५८२०७७ मा सम्पर्क गर्न पनि दूतावासले आग्रह गरेको छ । यसअघि हमासको आक्रमणमा परी १० जना नेपालीको मृत्यु भएको थियो भने एक जना वेपत्ता भएका छन् । वेपत्ता भएका कञ्चनपुरका विपिन जोशीको अवस्था अझै अज्ञात छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *