काठमाडौं । सत्ता गठबन्धनको बैठक आज (आइतबार) बस्दै छ । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बिहान ९ बजे बोलाइएको छ । आजको बैठकमा सुदूरपश्चिम सरकार निर्माणमा देखिएको झमेला र संसदको अवरोधबारेमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री दाबी पेश गर्न प्रदेश प्रमुखले दिएको समय आज साँझ सकिन लागेको छ ।
नाउपाका संस्थापक केन्द्रीय सदस्य रमेश बिकले भने आइतबार कैलाश चौधरीले एमाले, माओवादी र नेकपा एकीकृत समाजवादी पार्टीको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गर्ने बताए । गठबन्धनको बैठकमा आजदेखि अन्त्य हुन लागेको संसदको अधिवेशनका बारेमा पनि छलफल हुने बताइएको छ । आज बिहान ११ बजे प्रतिनिधिसभाको बैठक बोलाइएको छ । आज हिउँदे अधिवेशनको अन्तिम बैठक हो ।
आज रातिबाट अधिवेशन अन्त्यका लागि सरकारले राष्ट्रपतिसमक्ष सिफारिग गरिसकेको छ । कांग्रेसले संसद अवरोध गरेकोले अधिवेशन अन्त्य गर्नुपर्ने सत्तारुढको तर्क छ भने प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आफूहरुले संसदमा उठाउँदै आएका माग छल्न सरकारले संघीय संसदको हिउँदे अधिवेश नै अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको टिप्पणी गरेको छ । संसद बैठक बस्नु अघि कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ ।