
काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक बानेश्वरमा जारी छ । संघीय संसद् भवनको ल्होत्से हलमा बसेको बैठकमा संसद्को आगामी बैठकको तयारीका सम्बन्धमा छलफल भइरहेको हो ।
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठन गर्नुपर्ने भन्दै कांग्रेसले प्रतिनिधिसभामा विरोध गर्दै आएको छ । बैठक बस्ने कार्यसूची रहेकोले बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा बैठकमा छलफल हुने भएको हो ।
यसअघि सोमबार सभामुख देवराज घिमिरेले बोलाएको प्रधानमन्त्रीसहितको शीर्ष चार दलको बैठक बिना निष्कर्ष टुंगिएको थियो । बैठकपछि बोल्दै कांग्रेस प्रमुख सचेतक रमेश लेखकले गृहमन्त्री रवि लामिछानेमाथि लगाइएको सहकारी प्रकरणबारे संसदीय छानबिन समिति गठन गर्नुपर्ने अडान यथावत् रहेको बताएका थिए । आफूहरूको अडान यथावत् रहेको र त्यसको सुनुवाइ नभए संसद् अवरुद्ध भए त्यसको जिम्मेवारी सरकारले लिनुपर्ने उनको चेतावनी छ ।
यसअघि संसदीय दल कार्यसमितिको बैठक पनि बसेको थियो । बैठकले राष्ट्रिय सभा उपाध्यक्षमा विष्णुदेवी पुडासैनीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।