काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज चेन्नई सुपर किंग्स र कोलकाता नाइट राइडर्सबीच खेल हुँदै छ । चेन्नईमा हुने यो खेल नेपाली समय अनुसार राति ७: ४५ बजेदेखि सुरु हुँदै छ ।
जारी आईपीएलमा चेन्नईले ४ खेलमा २ जित र २ हार बेहोरेको छ भने कोलकाता अपराजित रहदै तीन खेल लगातार जितेको छ । यस सिजनमा महेन्द्र सिंह धोनीले भने चेन्नईको कप्तानी छोडेपछि रुतुराज गायकवाडले कप्तानी गर्दै छन् ।
चेन्नईका लागि कप्तान गायकवाडसहित रविन्द्र जडेजा, अजिख्य रहाने, समीर रिज्वी, महेन्द्र सिंह धोनी, दिपक चहर यस सिजनमा महत्वपूर्ण हुने छन् भने रचिन रविन्द्र, मुस्ताफिजुर रहमान, डार्यल मिचेल, मथीसा पाथिराना जस्ता खेलाडीको भूमिका महत्वपूर्ण हुने देखिन्छ ।
चेन्नई आईपीएलकै सबैभन्दा सफल टिम मध्ये एक टिम हो । अहिलेसम्म चेन्नईले ५ आईपीएल उपाधि जितेको छ भने आईपीएलको डिफेन्डिङ च्याम्पियन समेत हो ।
त्यस्तै कोलकाता श्रेयस अय्यरको कप्तानीमा आईपीएल खेल्दै छ । कोलकाताका लागि यस सिजनमा उनको भूमिका महत्वपूर्ण हुने देखिन्छ । विवादपछि भारतीय क्रिकेट बोर्डको सेन्ट्रल कन्ट्रयाक्टमा नपरेका श्रेयसले आईपीएलको प्रदर्शनबाट बोर्डलाई जवाफ दिने प्रयास गर्ने छन् । त्यस्तै उनी बाहेक गत आईपीएलबाट उदाएका रिंकु सिंह, नितिश राना जस्ता भारतीय खेलाडी कोलकाताका लागि महत्वपूर्ण हुनसक्छन् । त्यस्तै सुनिल नारान, आन्द्रे रसेल, रह्मुनुल्लाह गुर्बाज जस्ता विदेशी खेलाडीको प्रदर्शन महत्वपूर्ण हुने देखिन्छ ।
कोलकाताले यसअघि २०१२ र २०१४ मा उपाधि जितेको छ भने २०२१ मा उपविजेता बनेको छ । गत सिजनमा कोलकाता सातौं स्थानमा आएको थियो ।




