काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजीनामा दिने भएका छन् । अल्पमतमा परेका पाण्डेले आज राजीनामा दिने कांग्रेस संसदीय दलका प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेले जानकारी दिए ।
विश्वासको मत लिने र राजीनामा दिने विषयमा मुख्यमन्त्री पाण्डेले मंगलबार नेपाली कांग्रेसका सांसदहरुसँग छलफल गरेका थिए । छलफलपछि मुख्यमन्त्री पाण्डे राजीनामा दिन तयार भएका हुन् । फागुन २३ गते नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका पाण्डेले सरकार जोगाउन चैत २२ गतेभित्र विश्वासको मत लिनुपर्ने हुन्छ ।
प्रदेशसभामा कांग्रेसका २७ सांसद छन् । बहुमत पु¥याउन ३१ सांसद आवश्यक हुन्छ । हालको परिस्थितिमा विश्वासको मत नपाउने देखिएपछि मुख्यमन्त्री पाण्डे राजीनामा दिने तयारी गरेका हुन् ।
संविधानको धारा १६८ को उपधारा २ अनुसार मुख्यमन्त्री बनेका पाण्डेले राजीनामा दिए प्रदेश प्रमुख डिल्लीराज भट्टले उपधारा २ बमोजिम नै बहुमतसहित सरकार गठन गर्न दलहरुलाई आह्वान गर्नेछन् ।




