देश

अध्यक्ष तामाङको पहलमा बेलिब्रिज निर्माण कार्य अन्तिम चरणमा

काठमाडौं । धादिङ जिल्लाको उतरी भेगका वासिन्दाले पुलको अभावमा वर्षोदेखी भोग्दै आएको समस्या नयाँ वर्षसँगै अन्त्य हुने भएको छ । खनियाबास गाउँपालिका –४ र नेत्रावती डबजोङ गाउँपालिका १ जोड्ने बहुप्रतिक्षित किन्ताङफेदीमा बेलिब्रिज निर्माण सम्पन्न हुन लागेपछि स्थानीयवासी खुशी देखिन्छन् । यो पुल निर्माणका लागि खनियावास गाउँपालिकाका अध्यक्ष रणबहादुर तामाङले विशेष पहल गर्दै आएका छन् । सो बेलिब्रिज निर्माणको लागि रसुवा जिल्लाको उत्तरगया गाउँपालिका–५, सिउरेपानीमा रहेको बेलीबृजको पाटपुर्जाहरु पहिलो पटक किन्ताङफेदीमा बिहीबार मध्यराती देखि झार्ने प्रकृया सुरु भएको र आउने बितिकै जोड्ने काम पनि सुरु भएको अध्यक्ष तामाङले संकल्प खबरलाई बताए ।

उक्त बेलिब्रिज निर्माण कार्यका लागि अध्यक्ष तामाङलाई पूर्व कानून राज्यमन्त्री एवम् संविधान सभा सदस्य दिलमान पाख्रिन , माननीय सांसद रामनाथ अधिकारी , नेपाली सेनाको प्राविधिक टोली र साझेदार गाउँपालिका नेत्रावती डबजोङ गाउँपालिकाले सहयोग गर्दै आएका छन् ।

निर्माणधिन अवस्थामा रहेको बेलिब्रिज नयाँ वर्ष २०८१ को बैशाख महिनामा काम सक्ने गरी काम भइरहेको गाउँपालिकाका अध्यक्ष तामाङले जानकारी दिएका छन् । बेलिब्रिजको निर्माणसँगै उत्तरी धादिङ र खनियावास गाउँपालिकाको समग्र विकासमा सहयोग पुग्ने अपेक्ष लिएको अध्यक्ष तामाङले बताएका छन् । उनका अनुसार बेलिब्रिज निर्माण भएपछि गाँउपालिकाभित्र हिँउद वर्षा, जुन सुकै समयमा सवारी साधनको आवातजावतमा सहजता हुने भएको छ । बेलिब्रिज निर्माण गरेपछि विगतमा झै वर्षा याममा स्थानीयवासिन्दाहरुले भोग्दै आएको समस्याको अन्त्य हुने दावी अध्यक्ष तामाङले गरेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *