राजनीति

स्थगित भएको प्रतिनिधि सभा बैठक बुधबार मात्रै बस्ने

काठमाडौं। सांसदहरुको गणपुरक संख्या नपुगेपछि मंगलबार १५ मिनेटका लागि स्थगित भएको प्रतिनिधि सभाको बैठक अब बुधबार मात्रै बस्ने भएको छ। संघीय संसद् सचिवालयले सूचना टाँस गर्दै बुधबार बिहान ११ बजे बस्ने गरी प्रतिनिधि सभा बैठक स्थगित भएको जनाएको छ।

मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा अर्थमन्त्री वर्षमान पुनले भन्सार विधेयक २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए। उक्त प्रस्तावमाथि सामान्य छलफल सकिएपछि निर्णयार्थ पेस हुँदा नेपाली कांग्रेसका सांसद देवप्रसाद तिमिल्सिनाले गणपुरक संख्या यकिन गर्न माग गरेका थिए।

कांग्रेस सभामुख तिमिल्सिनाको मागपछि बैठक सञ्चालन गरिरहेकी उपसभामुख इन्दिरा रानाले गणपुरक संख्या यकिन गर्न निर्देशन दिइन्। गणपुरक संख्या यकिन गर्न ३ मिनेटका लागि घण्टी बजाइयो। तर गणना गर्दा गणपुरक संख्या नपुगेको देखियो।

प्रतिनिधि सभामा कायम सदस्य संख्याको १ चौथाइ सांसदको उपस्थितिलाई गणपुरक संख्या पुगेको मानिन्छ। हाल प्रतिनिधि सभामा कायम सदस्य संख्याको एक चौथाइ संख्याअनुसार गणपुरक संख्या पुग्नका लागि बैठकमा ६९ जना सांसदको उपस्थिति हुनुपर्ने हो। तर मंगलबारको बैठकमा ६६ जना सांसद मात्रै उपस्थित भएको पाइयो।

त्यसपछि सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि संसद् बैठक स्थगित गरेका थिए। १५ मिनेटका लागि स्थगित गरिएको बैठक अब बुधबार बिहान ११ बजे बस्नेछ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *