खेलकुद

साफ यू-१६ महिला फुटबल : जित्नैपर्ने खेलमा आज नेपालको सामना भारतसँग

काठमाडौं। जारी साफ यू-१६ महिला फुटबल प्रतियोगितामा आज नेपालले भारतको सामना गर्दैछ। ललितपुरस्थित च्यासल मैदानमा हुने यो खेल अपराह्न ३ बजेदेखि सुरु हुने छ ।

जारी प्रतियोगितामा बंगालदेशले खेलेका २ खेल जितेर ६ अंकसहित शीर्ष स्थानमा रहेको छ। त्यस्तै भारतले २ खेलमा एक जित र एक हारपछि ३ अंकसहित दोस्रो स्थानमा छ भने नेपाल पनि २ खेलमा एक जित र एक हारपछि ३ अंकसहित तेस्रो स्थानमा रहेको छ। त्यसैगरी भुटानले भने २ खेलमा दुवै खेलमा हार बेहोरेर अंकविहिन रहेको छ ।

अब नेपालले फाइनलमा पुग्न भारतविरुद्धको यो खेल जित्नै पर्ने अवस्थामा रहेको छ । यस खेलमा जित बाहेक अन्य नतिजाले नेपाल प्रतियोगिताबाट बाहिर हुने छ ।

नेपालले आफ्नो पहिलो खेलमा बंगलादेशसँग २-० गोलले हार बेहोरेको थियो भने दोस्रो खेलमा भुटानलाई ३-० ले पराजित गरेको थियो। त्यस्तै भारतले पहिलो खेलमा भुटानलाई ७-० गोलले पराजित गरेको थियो भने दोस्रो खेलमा बंगलादेशसँग ३-१ ले हार बेहोरेको थियो ।

प्रतियोगितामा अब शुक्रबार बंगलादेश र भुटान खेल्ने छन् भने त्यसपछि शीर्ष स्थानमा रहेका दुई देशले आइतबार फाइनल खेल्ने छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *