काठमाडौं महानगरपालिकाले राणा शासनको अनुकरण गर्दै देशको चौँथो अंग प्रकारमाथि आक्रमण गरेको छ । बुधबार समाचार संकलनका लागि काठमाडौँको सुन्धारामा पुगका नेपाल पत्रकार महासंघ प्यूठान शाखाका सदस्य पदमप्रसाद पोख्रेललाई महानगरपालिकाको नगरप्रहरीले बल प्रयोग गरी आक्रमण गरेको हो । समाचार सङ्कलनका क्रममा नगर प्रहरीले आक्रमण गरेको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको जनाएको छ ।
फागुन १६ गते बुधवार साँझ काठमाडौँको सुन्धारामा महानगर प्रहरीले सडक व्यापारीहरूलाई बलपूर्वक हटाइ रहेको समयमा भिडियो खिचिरहेको अवस्थामा पत्रकार परिचयपत्र देखाउँदा समेत नगर प्रहरीले आक्रमण गर्दै पत्रकार पोख्रेलको मोबाइलफोन, क्यामेरा, ल्यापटप तथा अन्य कागजपत्रहरू जफत गरेको महासंघ प्यूठान शाखाले जनाएको छ ।
‘नागरिकलाई सुसूचित गराउने जिम्मेवारी वहन गर्ने पत्रकारलाई नगर प्रहरीले गरेको यो हर्कत अत्यन्त निन्दनीय र प्रेस स्वतन्त्रतामाथिको ज्यादती हो,’ महासचिव रोशन पुरीद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । ‘महासंघ घटनामा संलग्न नगर प्रहरीलाई कारबाहीको दायरामा ल्याउन तथा संविधानप्रदत्त प्रेसको अधिकारको ख्याल गरी आगामी दिनमा यस प्रकारका घटना दोहोरिन नदिन आवश्यक कदम चाल्न र जफत गरिएका सामाग्री फिर्ता गर्न सम्बन्धित निकाय समक्ष महासंघले माग गरेको छ ।
पछिल्लो समय काठमाडौं महानगरपालिकाको नगरप्रहरी गुण्डा शैलीमा नागरिकहरुमाथि आक्रमण गरिरहेको छ । नगरप्रहरीले कुनै पनि विषयमा नागरिकका कुरा सुन्न मान्दैन । यस्तो नगर प्रहरीको शैलीले कुन बेला नागरिकको ज्यान जाने हो त्यो भन्न सकिँदैन । त्यसले कुनै पनि अनुसन्धान गर्दा वा समस्या समाधान गर्नुपूर्व महानगरप्रहरीले दिर्घकालीन समयमा हुने क्षेतीबारे पहिल्यै सोच्नुपर्ने जरुरी देखिएको छ ।