खेलकुद

नामिबियाले नेपाललाई दियो २०७ रनको लक्ष्य

काठमाडौँ । त्रिकोणात्मक टी-२० सिरिजको पहिलो खेलमा जान निकोलको शतकमा नामिबियाले नेपाललाई २०७ रनको लक्ष्य दिएको छ ।

टस जितेर ब्याटिङ गरेको नामिबियाले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २ सय ६ रन जोड्यो। नामिबियाका जान निकोल लफ्टी इटोनले एक सय १ रन जोडे। उनले ३६ बलमा ८ छक्का र ११ चौका प्रहार गरेका थिए।

मलान क्रुगर ५९ रनमा अविजित रहे। लफ्टी इटोन र क्रुगरबीच चौथो विकेटका लागि एक सय ४८ रनको साझेदारी भएको थियो।

सुरुको १० ओभरमा केवल ६० रन जोडेको नामिबियाले अन्तिम १० ओभरमा एक सय ४६ रन जोडेको थियो।

लफ्टी इटोन टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा कम बलमा शतक पुरा गर्ने विश्व कीर्तिमान बनाउन सफल भएका छन्। उनले केवल ३३ बलमा शतक पुरा गर्दै नेपालका कुशल मल्लको नाममा रहेको कीर्तिमान तोडेका हुन्। शतक पुरा गर्नेक्रममा उनले ८ छक्का र ११ चौका प्रहार गरेका थिए।

नेपालका करन केसीले ३ ओभरमा ३२, सोमपाल कामीले ३ ओभरमा ३४, दीपेन्द्रसिंह ऐरीले ४ ओभरमा ३२, रोहित पौडेलले ४ ओभरमा ३०, अविनाश बोहराले चार ओभरमा ४९ र गुल्सन झाले एक ओभरमा १८ रन खर्चिएका थिए।नेपालका लागि रोहित पौडेलले २ र करण केसी र अविनास बोहराले एक एक विकेट लिए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *