देश

डा. प्रमोद जोशीले गरे स्वास्थ्य अनुसन्धान परिषदको सदस्यसचिवको पदबहाली

काठमाडौं। नेपाल स्वास्थ्य अनुसन्धान परिषद (एनएचआरसी) को कार्यकारी सदस्य सचिवमा नियुक्त भएका डा. प्रमोद जोशीले मंगलबार पदबहाली गरेका छन् ।

डा.जोशी एनएचआरसीको चौधौ सदस्य सचिव हुन । मन्त्रीपरिषद्ले यही फागुन ६ गते डा.जोशीलाई परिषद्को रिक्त कार्यकारी सदस्य सचिवमा चार वर्षका लागि नियुक्त गरेको थियो ।

पदबहाली समारोहमा एनएचआरसीका पूर्व कार्यकारी अध्यक्ष एवं चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा. डा. अञ्जनीकुमार झा, नेपाल चिकित्सक संघका अध्यक्ष डा.अनिलविक्रम कार्की, स्वास्थ्य सेवा विभागका पुर्व महानिर्देशक डा. लक्ष्मीराज पाठक, चिकित्सक संघका महासचिव डा. सञ्जिव तिवारी लगायत वरिष्ठ चिकित्सकहरु र एनएचआरसीका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

समारोहमा एनएचआरसीका वरिष्ठ अनुसन्धान अधिकृत डा. मेघराज धिमालले नव नियुक्त सदस्य सचिव डा. जोशीलाई माला लगाएर स्वागत गर्दै उहाँको कार्यकालमा एनएचआरसीले नयाँ उचाई लिने विश्वास व्यक्त गरे । समारोहमा नेपाल चिकित्सक संघका अध्यक्ष डा. अनिलविक्रम कार्कीले डा. जोशीको कार्यकालमा एनएचआरसीले देशको माटो सुहाउदो अनुसन्धान गरेर स्वास्थ्य सम्बन्धी नीति निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

संक्षिप्त संवोधन गर्दै एनएचआरसीका नव नियुक्त सदस्य सचिव डा. जोशीले एनएचआरसीले बार्षिक कार्यक्रम अनुसार स्वास्थ्य अनुसन्धानलाई अगाडि बढाउने र परिमार्जन आवश्यक भए सल्लाह गरेर अगाडि बढ्ने बताए । डा. जोशीले अग्रजहरुको अनुभव र युवाहरुको जोसलाई समाहित गरेर देशको आवश्यकता अनुसार सवास्थ्य अनुसन्धान अगाडि बढाउने विश्वास व्यक्त गरे ।

डा.जोशी अर्थोपेडिक सर्जन हुन् । यसअघि डा.जोशी कैलालीको गेटामा रहेको गेटा अस्पतालको निर्देशक थिए । डा.जोशीकै पहलमा गेटा अस्पतालले गत कार्तिकबाट पहिलो चरणमा १०० शैयाको अस्पताल सञ्चालन सहित ओपिडी सेवा सुरु गरेको थियो । डा.जोशीले राष्ट्रिय ट्रमा सेन्टरको निर्देशकको जिम्मेवारी समेत निर्वाह गरिसकेका छन् । यस अघिका सदस्य सचिव डा. प्रदीप ज्ञवालीको पदावधि माघ २६ गते समाप्त भएपछि उक्त पद रिक्त थियो । डा. जोशी नेपाल चिकित्सक संघको कोषाध्यक्ष समेत हुन ।