काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग २ को पहिलो खेलमा नेपाल नामिबियासँग पराजित भएको छ । नेपालले दिएको १३३ रनको सामान्य लक्ष्य नामिबियाले ६ विकेट गुमाएर ३३.१ ओभरमा भेट्टाएको थियो । नेपालका सोमपाल कामीले ३, ललित राजवंशीले २ र कप्तान रोहित पौडेलले १ विकेट लिए । नामिबियासँगको हारपछि नेपालले घरेलु मैदानकै खेलबाट महत्वपूर्ण दुई अंक गुमाएको छ ।
२०२० देखि ओडीआई खेल्दै आएको नेपालको घरेलु मैदान कीर्तिपुरमा अहिलेसम्मकै कम स्कोर बनाउने क्रममा ४१.१ ओभरमा १० विकेट गुमाएर १३२ रन बनाएको थियो । यसअघि ओडीआईमा नेपालको कीर्तिपुरमा सबैभन्दा कम योगफल २०२० मा ओमान र २०२२ मा युएईविरुद्ध १७९ रन थियो । नेपालको ओडीआई इतिहासकै सबैभन्दा कम योगफल भने २०२२ मार्चमा दुबईमा युएईसँग १०३ रन थियो । २०२३ को एसिया कपमा पाकिस्तानसँग मुल्तानमा १०४ रनमा नेपाल अल आउट भएको थियो ।
नेपालको सातौं कम योगफल हो । यो खेलमा नेपालका भीम सार्कीले सर्वाधिक ४४ रन बनाउँदा नामिबियाका कप्तान जेराल्ड इरास्मसले ५ विकेट लिएका थिए ।




