काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) ले नेपाली यू-१९ टिमका खेलाडी सुबास भण्डारीलाई कारबाही गरेको छ ।
दक्षिण अफ्रिकामा जारी यू-१९ विश्वकपमा पाकिस्तानविरुद्धको खेलका क्रममा सुबासले फालेको बल पाकिस्तानी खेलाडीको काधमा लागेपछि आइसीसीले कारवाही गरेको हो । आईसीसीले सुवासलाई एक ‘डिमेरिट प्वान्ट’ दिएको छ ।
पाकिस्तानविरुद्धको सो खेलको १४औं ओभरमा सुभासले फिल्डिङका क्रममा फालेको बल पाकिस्तानका ब्याट्सम्यान शाहजैब खानको काँधमा लागेको थियो । आईसीसीको नियम २.९ अनुसार सो घटना नियम उलंघनको भएका कारण उनी कारबाहीमा परेका हुन् ।
यो एक ‘डिमेरिट प्वाइन्ट’ आगामी २४ महिनासम्म रेकर्डमा रहने आइसीसीले जनाएको छ । आइसीसीको नियम अनुसार कुनै खेलाडीले २४ महिनाभित्र ४ ‘डिमेरिट प्वाइन्ट’ पाएमा २ खेलको प्रतिबन्धको लाग्ने गर्दछ ।
सुबासले सो गल्ति स्वीकार गरेकोले यस विषयमा अगाडी सुनुवाई नहुने आइसीसीले जानकारी दिएको छ । पाकिस्तानविरुद्धको सो खेल नेपालले ५ विकेटले गुमाएको थियो ।
जारी यू-१९ विश्वकपमा नेपालले शुक्रबार अफगानिस्तानलाई एक विकेटले पराजित गर्दै सुपर सिक्समा पुगेको छ । सो खेलमा सुबासले नै नेपालका लागि विजयी रन हानेका थिए ।




