खेलकुद

पाकिस्तानविरुद्ध नेपाल ब्याटिङ गर्दै

काठमाडौं । आइसीसी यू–१९ विश्वकपअन्तर्गत समूहको दोस्रो खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने भएको छ । नेपाली टोलीका कप्तान देव खनालले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेका हुन् ।

नेपालले न्युजिल्यान्डविरुद्धको पहिलो खेलबाट टोलीमा तीन परिवर्तन गरेको छ । ओपनर दीपक बोहोरा, मध्यक्रम ब्याटर दिपक बोहोरा र स्पिनर तिलकराज भण्डारी टोलीबाट बाहिर रहेका छन् । विपिन रावल, दीपक डुम्रे र दुर्गेश गुप्ता टोलीमा आएका छन् ।

नेपाल पहिलो खेलमा न्युजिल्यान्डसँग ६४ रनले पराजित भएको थियो । न्युजिल्यान्डले प्रस्तुत गरेको ३ सय ३ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले ९ विकेटको क्षतिमा २ सय ३८ रन जोडेको थियो । नेपालका लागि अर्जुन कुमालले ९० रनको इनिङ खेलेका थिए ।

नेपालले गत महिना पाकिस्तानविरुद्ध एसीसी यू–१९ एसिया कपमा पनि खेलेको थियो । उक्त खेलमा पाकिस्तान ७ विकेटले विजयी भएको थियो ।

यू–१९ विश्वकप इतिहासमा नेपाल र पाकिस्तान तीनपटक भिडेका छन् । सन् २००० मा खेल रद्द हुँदा २००२ संस्करणमा नेपालले पाकिस्तानलाई स्तब्ध पारेको थियो । सन् २०१६ मा भने पाकिस्तानले १ सय २२ रनको जित हासिल गरेको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *