खेलकुद

एसियन कप : चीन र ताजकिस्तान बराबरीमा, अस्ट्रेलियासँग भारत २–० ले पराजित

काठमाडौं । एफसी एसियन कप फुटबलमा चीन र ताजकिस्तानले बराबरी खेलेका छन् ।

कतारमा जारी प्रतियोगिता अन्तर्गत शनिबार भएको खेलमा समूह ‘ए’मा रहेको चीन र ताजकिस्तानले गोलरहित बराबरी खेलेका हुन् ।

चीनविरुद्ध ताजकिस्तानले बल पोसेसन बढी राखे पनि गोल गर्न भने असफल भयो । ८२ औं मिनेटमा चीनका लागि झू चेनले गोल गरे पनि भारले चेक गरेर अफसाइड घोषणा गरे पछि त्यसले मान्यता पाएन । बराबरीसँगै दुवै टिमले तालिकामा एक एक अंक लिएका छन् ।

समूह ‘ए’मा घरेलु टोली कतार स्पष्ट ३ अंकका साथ तालिकाको शीर्ष स्थानमा रहँदा चीन र ताजकिस्तान एक एक अंकका साथ दोस्रो र तेस्रो स्थानमा छन् । लेबनानले भने खाता खोल्न सकेको छैन ।

एसियन कप फुटबल : अस्ट्रेलियासँग भारत २–० ले पराजित

कतारमा जारी एफसी एसियन कप फुटबलमा अस्ट्रेलिया विजयी भएको छ । शनिबार भएको खेलमा अस्ट्रेलियाले भारतविरुद्ध २–० गोल अन्तरले जित निकाल्यो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा अस्ट्रेलियाले दुवै गोल दोस्रो हाफमा गरेको हो ।

५०औं मिनेटमा अस्ट्रेलियाले अग्रता बनाउन सफल भयो । भारतीय गोलकिपर गुरप्रित सिंह सन्धूले गल्ती गर्दा त्यसको फाइदा उठाउँदै ज्याक्सन इरविनले गोल गरेका थिए ।

७३ औं मिनेटमा अस्ट्रेलियाका जाडोन बोसले रेलि म्याकेग्रीको पासमा गोल गर्दै अग्रता दोब्बर बनाए । त्यसपछि दुवैतर्फबाट थप गोल नभएपछि अस्ट्रेलिया २–० को जितका साथ प्रतियोगितामा सुखद् सुरुआत गर्न सफल भयो ।

अस्ट्रेलियन टिम भारतविरुद्ध सुरुदेखि नै हावी भए पनि भारतीय कप्तान सुनिल क्षत्रीले १६औं मिनेटमा गरेको हेडर पोस्टभन्दा बाहिर गएको थियो । जितपछि समूह ‘बी’मा अस्ट्रेलिया ३ अंकका साथ शीर्ष स्थानमा रहेको छ भने भारत पुछारमा रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *