देश

बाँके : बालसुधार गृहमा भएको झडपमा पाँचजना घाइते

काठमाडौं । बाँकेको नौवस्तास्थित बालसुधार गृहका बालबन्दीबीच विवादको अवस्था सिर्जना भएपछि झडप भएको छ। प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरलका अनुसार बैजनाथ –३, गाभरस्थित क्षेत्रीय कारागारमा रहेको बालसुधार गृहका बालबन्दीबीच झडप भएको हो ।

बालसुधार गृहमा १८ वर्षमाथिका बन्दीबीच शनिबार रातिदेखि नै झडप भएको प्रजिअ पोखरेलले जानकारी दिए । दुईवटा ब्लकका बालबन्दीबीच झडपको अवस्था सिर्जना हुँदा चारजना बालबन्दी घाइते भएका छन्। एउटा ब्लकमा २३ जना र अर्को ब्लकमा ९३ जना राखिएका छन्। उनीहरूबीच ढुङ्गा हानाहान भएको उनको भनाइ छ ।

आइतबार अपरान्ह ४ बजेतिर हानाहान हुँदा एकजना बालबन्दी घाइते भएका छन्। घाइतेलाई नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा भर्ना गरिएको छ। अहिले पनि बालबन्दीहरु ढुङ्गा हानाहान गरिरहेका छन्। सुरक्षाकर्मीमाथि उनीहरुले ढुङ्गा हानेका छन् । उग्र अवस्था नियन्त्रणमा लिनका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको थप सुरक्षाकर्मीहरु त्यहाँ खटिएका छन् । उक्त सुधारगृहमा १८ वर्ष उमेर समूहमाथिका विभिन्न जिल्लाका १ सय १६ जना बालबन्दी छन्। गत असोज ४ गते बाँकेकै डुडुवा –६ स्थित जयन्दु बालसुधार गृहका बालबन्दीबीच झडप हुँदा एकजनाको मृत्यु भएको थियो।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *