काठमाडौँ । साउदी प्रो लिग अन्तर्गत अल नासरले अल इत्तिहादलाई फराकिलो अन्तरले पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अल नासरले अल इतिहादलाई ५-२ गोल अन्तरले पराजित गरेको हो ।
क्रिस्टियानो रोनाल्डो भर्सेस करिम बेन्जमाको रुपमा हेरिएको यस खेलमा रोनाल्डोले दुई गोल गरेका थिए । त्यस्तै अल नासरका लागि साडियो मानेले पनि २ गोल गरे भने टालिस्काले एक गोल गरेका थिए । यस खेलमा २ गोल गरेसँगै क्रिस्टियानो रोनाल्डोले २०२३ मा आफ्नो गोल संख्या ५३ पुर्याएका छन् । साथै २०२३ मा रोनाल्डो सबैभन्दा बढी गोल गर्ने खेलाडीको सूचीमा शिर्ष स्थानमा रहेका छन् ।
त्यस्तै अल इत्तिहादका लागि दुवै गोल अबडेराजक हम्दल्लाहले गरेका थिए ।
यस खेलमा खेलको ६६औ मिनेटमा अल इत्तिहादका फाबिन्होले दोहोरो पहेलो कार्ड पाएर मैदान छोडेपछि इत्तिहाद १० खेलाडीमा सिमित भएको थियो ।
यो अल नासरको यस सिजनमा १४औं जित हो । यो जितपछि अल नासरको १८ खेलमा ४३ अंक भएको छ र लिगमा दोस्रो स्थानमा कायम रहेको छ ।
त्यसैगरी अल इत्तिहादको भने यस सिजनमा यो छैटौं हार हो । यो हारपछि इत्तिहादको १८ खेलमा २८ अंक रहेको छ र अंक तालिकामा छैटौं स्थानमा रहेको छ ।




