काठमाडौं । मकवानपुरको राक्सिराङ गाउँपालिका क्रिसमस केन्द्रित भएको देखिएको छ । सरकारले देशभरी क्रिसमसका अवसरमा एक दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ । यस्तै सरकारले उद्यौली पर्वको अवसरमा पनि एक दिन विदा दिने निर्णय गरेको छ । तर राक्सिराङ गाउँपालिका मकवानपुरले भने क्रिसमसका अवसरमा तीन दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
गाउँपालिका अध्यक्ष राजकुमार मल्लले सरकारले क्रिसमस र उद्यौली पर्वको अवसरमा दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको तर गाउँपालिकाले एक दिन थप विदा दिने निर्णय गरेको जानकारी दिए । गाउँपालिकाले आजैबाट तीन दिन सार्वजनिक विदा दिने निर्णय गरेपछि अहिले उक्त गाउँपालिकाको चौतर्फी आलोचना भइरहेको छ ।
कार्यपालिका बैठकले एकमतबाट क्रिसमसको तीन दिन बिदा दिने निर्णय गरेको उल्लेख गर्दै गाउँपालिका अध्यक्ष मल्ले यसभन्दा अगाडीका वर्षहरुमा पनि गाउँपालिकामा क्रिश्चियन धर्म मान्नेहरुको संख्या धेरै भएकाले एक दिनभन्दा बढी विदा दिदैँ आएको बताए । गाउँपालिकाले २०७४ सालबाट नै क्रिसमसका लागि द्ुई दिन सार्वजनिक विदा दिदैँ आएको जनाएको छ ।
गाउँपालिका अध्यक्ष मल्लका अनुसार गाउँपालिकाभित्रै करिब १०० वटा चर्च निर्माण भएका छन् । चार जना वडाध्यक्ष नै क्रिश्चियन धर्मावलम्बी रहेका छन् । कार्यपालिकामा चार जना वडाध्यक्ष नै पास्टर रहेको उनको भनाइ छ । गाउँपालिका अध्यक्ष मल्ल हिन्दू धर्मावलम्बी भए पनि सबै धर्मलाई सम्मान नजरले हेर्ने गरेको उनको भनाइ छ । उनले नेपालीहरुको महान चाड पर्वमा लामो विदा हुँदा उनीहरुले नकरात्मक सन्देश नदिएकाले उनीहरुको पर्वमा पनि एक दिन बढी विदा दिएको गाउँपालिका अध्यक्ष मल्लले जानकारी दिए ।
चेपाङ समुदायको उल्लेख्य उपस्थिति रहेको गाउँपालिकामा अहिले चेपाङ समुदायले धर्म परिवर्तन गरेर आर्थिक लाभ लिएको उनले बताए । क्रिश्चियन धर्म परिवर्तन गरेपछि गाउँपालिकामा बसोबास गर्ने चेपाङ समुदायको आर्थिक स्तरमा समेत परिवर्तन आएको उनले बताए ।





