काठमाडौँ । उच्च अदालत पाटनले सिप बिल्डिङमा अनुत्तीर्ण भएकाहरूलाई उत्पादनमूलक क्षेत्रमा आवेदन दिन पाउने आदेश जारी गरेको छ । बिहीबार उच्च अदालत पाटनले २०२३मा परिक्षा दिएका विद्यार्थीहरुलाई उत्पादनमु्लक क्षेत्रमा आवेदन दिन एजआर डी सर्भिस कोरिया र इपियस शाखा ग्वार्कोलाई आदेश दिएको हो । सुरज पाठकसहित १८ जनाको तर्फबाट उच्चमा परेको रिटमाथि सुनुवाइ गर्दै अदालतले उनीहरूलाई फाराम भर्न रोक नलगाउन र आवेदन फाराम भर्न दिन आदेश दिएको हो ।
उच्च अदालतका न्यायाधीशद्वय राज्यलक्ष्मी बज्राचार्य र रमेशराज पोखरेलको संयुक्त इजलासले अन्तरिम आदेश जारी गर्दै उनीहरूले आवेदन फाराम भर्न दिन भनेको हो । ईपीएस कोरिया शाखा कार्यालयले उत्पादनमूलक क्षेत्रका लागि पुस २ गतेदेखि ६ गतेसम्मका लागि आवेदन आह्वान गरेको थियो । त्यसमा यसै वर्ष सिप बिल्डिङका लागि आवेदन दिएर अनुत्तीर्ण भएकाहरूले आवेदन दिन नपाउने भन्ने थियो । त्यसको विरुद्धमा उनीहरूले अदालतमा मुद्दा दायर गरेका थिए ।
अदालतले जारी गरेको विज्ञप्तीमा भनिएको छ –अन्तिम सुनुवाइ हुँदाका बखत सम्बोधन हुने नै हुँदा तत्काल यी निवेदकहरूलाई हुन सक्ने अपूरणीय क्षति तथा सुविधा सन्तुलनको दृष्टिकोणबाट यी निवेदकलाई आवेदन फाराम नै भर्नबाट वञ्चित गर्न मनासिब नहुँदा निवेदकहरूका हकमा उल्लेखित मिति २०८०/०८/१९ को सूचना बमोजिम मिति २०८०/०९/०२ बाट खुला गरिएको आवेदन फाराम भर्न रोक नलगाउनु र निवेदकहरूलाई आवेदन फाराम भर्न दिनु भनी विपक्षीहरूका नाममा उच्च अदालत नियमावली २०७३ को नियम ४२ बमोजिम अन्तरिम आदेश जारी गरिएको छ’ ।
ईपीएस कार्यालयका निर्देशक गुरुदत्त सुवेदीका अनुसार आवेदन फाराम खुलेको चार दिनमा ८० हजार भन्दा बढीले आवेदन दिइसकेको र म्याद अवधिभरसम्म १ लाखभन्दा बढीले आवेदन दिन सक्ने छन् । यद्यपी आज दिनभरी सर्बरमा समस्या देखिएपछि परिक्षार्थीहरुले फर्म भर्न पाएका थिएनन्, तर साँझबाट पुनः सर्बर सुचारु भएको छ । उच्च अदालतले अन्तरिम आदेश जारी इपियस शाखा नेपाललाई थाहा नभएको र शुक्रवार अफिस समयमा अदालतबाट आदेश आएपछि के गर्ने भन्ने विषयमा एचआरडी कोरिया तथा सरोकारवाला निकायसँग छलफल गर्ने जनाएको छ । इपियस शाखा ग्वार्कोले अदालतको आदेशका आधारमा तत्काल ठोस निर्णयमा पुग्नुपर्छ ।
एच आर .डी सर्भिस कोरिया शाखाले मंशिर १९ गते २०२३ को उत्पादनमुलक क्षेत्रको आवेदन प्रकाशित गर्दै २०२३ मैँ भएको सिप बिल्डिङ परिक्षामा आवेदन दिएका र अनुत्रिर्ण भएका कोरियन भाषा अध्ययनको तयारीमा रहेका ३३ हजारभन्दा माथिको संख्यामा जम्मा भएर विद्यार्थीहरुले उत्पादनमुलक क्षेत्रमा पुन आवदेन दिन पाउनुपर्ने माग राख्दै माग सम्बोधन नहुँदासम्म आन्दोलन जारी राख्ने भन्दै ईपियस कार्यालय ग्वार्को अगाडी दोस्रो चरणको आन्दोलनगरेका थिए ।
एच आर डि कोरिया शाखाले पहिले एक पटक परिक्षामा आवेदन दिएका विद्यार्थीहरुले आगामी सोही वर्ष जुनसुकै परिक्षामा समेत सामेल हुने जनाउँदै पहिलो पटक सुचना जारी गरेको थियो । सोही सुचनाका आधारमा कोरियन भाषा अध्ययन गरिरहेका विद्यार्थीहरुले आवेदन दिएका थिए । तर एच आर. डि कोरिया शाखाले सिप बिल्डिङमा आवेदन दिएपछि अर्को सुचना जारी गर्दै एक पटक परिक्षामा सामेल भएका विद्यार्थीेले सोही वर्ष खुल्ने अन्य परिक्षामा सामेल हुन नपाउने नियम जारी गरेको थियो । पहिलो सुचनामा दुबै विषय नखुलाएकाले विद्यार्थीहरु आन्दोलित बनेका थिए ।




