काठमाडौँ । जारी एसीसी यू-१९ एशिया कपको सेमिफाइनलका खेल आज हुदै छन् ।
आज सेमिफाइनलमा समुह ए को विजेता पाकिस्तान र समुह बि को उपविजेता युएई खेल्दै छन् भने अर्को सेमिफाइनलमा समुह बि को विजेता बंगलादेश र समुह ए को उपविजेता भारत खेल्दै छन् ।
बुधबार समुह चरणका खेलहरु सकिएसँगै सेमिफाइनलमा पुग्ने चार देशको टुंगो लागेको थियो ।
८ देशले भाग लिएको यू-१९ एशिया कपमा समुह ए मा पाकिस्तान र भारतका अलावा नेपाल र अफगानिस्तान रहेका थिए । अफगानिस्तानले आफ्ना ३ खेलमा एक जित हासिल गरेर समुहमा तेस्रो हुदै बाहिरिएको थियो भने नेपालले आफ्ना तिनै खेलमा हार बेहोरेर बाहिरिएको थियो ।
त्यस्तै समुह बि मा बंगलादेश र युएईका अलावा श्रीलंका र जापान रहेका थिए । श्रीलंकाले ३ मध्ये एक खेलमा मात्र जित हासिल गरेर तेस्रो हुदै बाहिरिएको थियो भने जापानले आफ्ना तिनै खेलमा हार बेहोरेको थियो ।
यु-१९ एशिया कपको फाइनल खेल आगामी आइतबार हुने छ ।




