काठमाडौं । नेपाली कांग्रेसले जाजरकोटमा थालेको भूकम्प पिडितहरुका लागि अस्थायी आवास निमार्ण अभियान अन्र्तगत एक हजार अस्थायी आवास ‘घर–टहरा’ निर्माण कार्य अन्तिम चरण पुगेको छ ।
जाजरकोट भुकम्प’ बाट प्रभावित बस्तिहरुमा एक हजार अस्थायी आवास टहरा निर्माणको काम अन्तिम चरणमा पुगेको नेपाली कांग्रेस प्रचार विभाग प्रमूख मीन विश्वकर्माले जानकारी दिए । केन्द्रीय सदस्य प्रदिप पौडेलको नेतृत्वमा जाजरकोट जिल्लाको नलगाड नगरपालिका वडा नं ०५ रघुनाथ, ऐरारी, पोखरा र मुलिमा एक सय अस्थायी घर टहरा निर्माण कार्य अन्तिम चरणमा पुगेको कांग्रेस प्रचार विभाग प्रमुख विश्वकर्माले बिहीबार जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
उक्त अभियानमा गण्डकी प्रदेश सभा सदस्य डिल्लीराम सुवेदी, पालुङ्टार नगरपालिकाका पूर्व मेयर ई. दिपकवावु कँडेल, नेपाली कांग्रेस जाजरकोटका नेताहरू— महेन्द्र शाह, पुष्प बस्नेत, छवि पन्त, पूर्ण ओली, महासमिति सदस्य सुशील भट्ट, वडाध्यक्ष ओम ओली, नेपाल तरुण दलका नेता भागवत रेग्मी र नेविसंघका नेताहरु, ४१ जना मिस्त्री र ७५ जना स्थानीय स्वयंसेवकहरू संलग्न रहेका छन् ।
दुःखको बेलामा भूकम्प पिडितका लागि अस्थायी आवास निर्माणमा योगदान गर्ने पाटीका सबैलाई नेपाली कांग्रेसले प्रशंशा गरेको छ । साथै भूकम्प पिडितका लागि अस्थायी आवास निर्माणमा अझ क्रियाशिल भएर निरन्तरता दिन समेत कांग्रेसले सबैलाई हार्दिक अपिल गरेको छ ।




