काठमाडौं । कोशी प्रदेश योजना आयोगको उपाध्यक्षमा लेखक पुरञ्जन आचार्य नियुक्त भएका छन् । बुधबार बसेको प्रदेश मन्त्रिपरिषदको बैठकले उनलाई उपाध्यक्षमा नियुक्त गरेको हो ।
उपाध्यक्ष नियुक्त भएसँगै मुख्यमन्त्री केदार कार्कीले आचार्यलाई नियुक्ति पत्र प्रदान गरेका थिए । विराटनगर निवासी आचार्य कांग्रेस कार्यकर्ता भए पनि उनी आफूलाई राजनीतिक विश्लेषक भन्न रुचाउँछन् ।
उनी कांग्रेसमा सधैं विभाजन र फुट मात्र गराउन चाहन्छन् । वर्तमान पार्टी सभापति शेरबहादुर देउवाका उनी कडा आलोचक हुन् । उनी देउवालाई सभापतिसमेत मान्न तयार छैनन् ।
नेपाल विद्यार्थी संघबाट राजनीति शुरु गरेका आचार्य गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री र पार्टी सभापति हुँदा स्वकीय सचिव थिए । अहिले उनी कांग्रेसको संस्थापन इतर समूहका नेता शेखर कोइराला निकट छन् ।
राजनीतिक विश्लेषकका रुपमा मिडियामा छाइरहने उनका विश्लेषणहरुमा देउवा र संस्थापनपक्षीय नेताहरुको खरो आलोचना गरेको पाइन्छ । कांग्रेसमा हुँदै नभएको विषय झगडाका रूपमा बाहिर ल्याउने काम यिनैले गर्ने गर्छन् ।
देउवाका कडा आलोचक भएकै कारण आचार्यलाई प्रदेश योजना आयोगको उपाध्यक्षको पुरस्कार दिइएको चर्चा चलेको छ ।




