काठमाडौं । विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइराला स्वदेश फर्किएका छन् । कोइराला शनिबार विराटनगर आइपुगेका हुन् । काइराला गत असोज १० गते अमेरिका गएका थिए । उनले ४० देशभन्दा बढीका स्थानीय सरकारका प्रमुख र प्रतिनिधिहरू सहभागी सेमिनारमा सहभागी हुन प्रमुख कोइराला अमेरिका गएका थिए । टेक्सासमा भएको सेमिनारमा सहभागी भएर प्रमुख कोइरालाले विभिन्न महानगरका मेयर, सिनेटरहरूसँग विकास र साझेदारीको विषयमा छलफल गरेका थिए ।
विराटनगर महानगरपालिका र अमेरिकाको न्यूयोर्क महानगरबीच भगिनी सम्बन्ध स्थापित गर्ने समझदारी उनले बताए । उनको अनुसार समझदारी भएपनि समझदारी पत्रमा हस्ताक्षर भने भएको छैन । भगिनी सम्बन्ध स्थापित भएपछि विराटनगरको दीर्घकालीन समस्याका रूपमा रहेका बाढी, डुबान, सुकुम्वासी व्यवस्थापन, सडक निर्माण र फोहर व्यवस्थापनमा सहकार्य हुने कोइरालाको भनाइ छ ।
न्यूयोर्कका मेयर एडम्स विराटनगरको भ्रमणमा आउने र त्यसैबेला महानगरबिच भगिनी सम्बन्धमा हस्ताक्षर हुने कोइरालाले जानकारी दिए । ‘फोहर व्यवस्थापनका लागि बोस्टनमा बनेको प्लान्ट लागि सुविधाजनक हुन सक्ने उनको भनाइ छ । प्लान्ट ४ बिलियन डलरमा बनेपनि सानो मात्रामा खर्च व्यावस्थापन गरेर जडान गर्ने उनले बताए । प्लान्ट जडान गर्ने प्राविधिकहरू आएर विराटनगर महानगरको सर्वेक्षण गरेपछि त्यसपछि डीपीआरको काम अघि बढ्ने उनको भनाइ छ ।




