काठमाडौं । चाडपर्व नजिकिएसँगै सरकारले बजार अनुगमनलाई कडाई गरेको छ । काठमाडौंका केही पम्पमा कम मात्रामा पेट्रोल वितरण हुने गरेको, कमसल पेट्रोल वितरण भएको लगायतका गुनासाहरू आएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनमा मंगलबार छड्के अनुगमन गरिएको हो।
प्रधानमन्त्री प्रचण्डले उद्योग, वाणिज्य तथा आपूर्तीमन्त्री रमेश रिजाल, मुख्य सचिव बैकुण्ठ अर्याल लगायतका सम्बन्धित निकायका पदाधिकारीलाई बोलाएर अनुगमनका लागि निर्देशन दिएका थिए। प्रधानमन्त्ती प्रचण्डको निर्देशनपछि मंगलबार दिउँसो काठमाडौंका केही पेट्रोल पम्पमा अनुगमन गरिएको हो।
प्रधानमन्त्रीका स्वकिय सह– सचिव गोकर्ण भट्टका अनुसार अनुगमनका क्रममा तीनकुनेस्थित भ्यालीबाबा पेट्रोल पम्पमा सिल गरिएको हो । उक्त पम्पले कम मात्रामा पेट्रोल वितरण गर्दै आएको भेटिएपछि सिल गरिएको उनले बताए।
वाणिज्य मन्त्रालय, प्रधानमन्त्रीको सचिवालय, नापतौल तथा गुणस्तर विभाग र काठमाडौं जिल्ला प्रशासन कार्यालयका अधिकारीहरू सम्मिलित टोलीले पम्पहरूमा अनुगमन गरेको हो। सोमबार पेट्रोलियम पदार्थको मूल्य घटेसँगै केही पम्पहरूले हिजो बिक्री वितरण नगर्ने चेतावनी दिएका थिए।




