देश

उद्योगमन्त्री रिजाल भन्छन्– अर्थतन्त्र संकटग्रस्त छ भन्ने कुरामा सहमत छैन

काठमाडौं । उद्योग, वाणिव्य तथा आपूर्तिमन्त्री रमेश रिजालले अर्थतन्त्र संकटग्रस्त अवस्थामा नरहेको दाबी गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बिहीबार काठमाडौंमा आयोजना गरेको ‘राष्ट्रिय आर्थिक बहस सुधारका लागि सहकार्य’ विषयक अन्तरक्रियामा उनले अर्थतन्त्र संकटग्रस्त छ भन्ने हल्लाको पछि नलाग्न आग्रह गरे ।

‘अर्थतन्त्र संकटग्रस्त छ भन्ने कुरामा म सहमत छैन । हामीले अर्थतन्त्रलाई उभो लगाउन नसके पनि उधो लागिहालेको अवस्था छैन,’ उनले भने, ‘त्यसकारण अर्थतन्त्र संकटग्रस्ट छैन ।’

मुलुकलाई समृद्धितर्फ लैजान निजी क्षेत्रलाई अगाडि बनाउनुपर्ने उनको भनाइ छ । समृद्ध राष्ट्र निर्माणको लागि सरकार र निजी क्षेत्रको सहकार्य आवश्यक रहेको मन्त्री रिजालले बताए ।

‘मुलुकलाई समृद्धितर्फ लैजाने निजी क्षेत्रलाई अगाडि बढाउन सक्यौँ । उनीहरूलाई विश्वासको वातावरण बनाउन, लगानीमैत्री वातावरण बनाउन सक्यौँ भने यो मुलुक समृद्धितर्फ जान्छ,’ रिजालले भने, ‘निजी क्षेत्र भनेको बदमासकै क्षेत्र हो ।

यिनीहरूले राजनीतिज्ञ र कर्मचारीलाई चल्नै दिँदैनन् । यस्ता खालका परम्परागत अतिवाद सोच हो । यस्ता खालका सोचलाई फाल्न सकेनौँ भने यो मुलुक समृद्धितर्फ जान्छ भन्ने मलाई विश्वास छैन ।’

अर्थतन्त्र संकटग्रस्त छ भन्ने अभिव्यक्तिले धेरैलाई निराशा बनाएको उल्लेख गर्दै त्यसकारण यस्ता खालका अभिव्यक्ति त्याग्न उनले उद्योगी व्यवसायीलाई आग्रह गरे ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *