काठमाडौँ । इजरायलमा आपतकालीन सरकार गठन हुने भएको छ । जेरुसेलम पोष्टका अनुसार प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र नेशनल युनिटी पार्टीका नेता बेन्नी गान्ट्जबीच बुधबार भएको छलफलपछि आपतकालीन सरकार गठनको सहमति भएको हो ।
आधा घण्टासम्म चलेको बैठकपछि दुवै नेता नयाँ सरकार गठन गर्न सहमति भएको मिडिया रिपोर्टमा उल्लेख छ ।
सम्झौताको एक भागको रूपमा नेता बेन्नी र गाडी आइसेनकोटले मन्त्रीहरूको रूपमा शपथ लिदै नेतान्याहू र रक्षा मन्त्री योभ ग्यालान्टसँग युद्ध मन्त्रिपरिषद्मा सामेल हुनेछन्।
शनिबार बिहान इजरायलमा भएको ठूलो आक्रमणपछि नेतन्याहूले हमासविरुद्ध युद्धको घोषणा गरेपछि इजरायलमा आपतकालीन सरकारको व्यापक आह्वान भएको थियो ।
आपतकालीन सरकार गठनपछि इजरायल सरकारलाई राजनीतिक रुपमा हमासविरुद्ध ठुलो कारवाही गर्न थप सहज हुने विश्लेषण गरिएको छ ।




