काठमाडौँ । दक्षिण एसियाका प्रबुद्ध कुटनीतिज्ञ, अर्थविद एवं उद्यमीहरुको एउटा विशिष्ट भेलाका लागि श्रीलंकाको भ्रमणमा रहेका रास्वपा सांसद डा. स्वर्णिम वाग्लेले श्रीलंकाका राष्ट्रपति रणिल विक्रमेसिङ्घेसँग आज शिष्टाचार भेटघाट गरेका छन् ।
श्रीलंकाको अर्थतन्त्र र समाधानोन्मुख सङ्कट, लुम्बिनीले गाँसेको नेपाल-श्रीलंका सम्बन्ध, सार्कको भविष्य र सूचना प्रविधिका नयाँ सम्भावनाबारे सौहार्दपूर्ण वार्ता भएको डा. स्वर्णिम वाग्लेले बताए ।
विश्व स्वास्थ्य संगठनको दक्षिणपूर्वी क्षेत्रीय निर्देशकको पदमा नेपालको उम्मेदवार रहेका डा. शम्भु आचार्यको पक्षमा श्रीलंकालाई मतदान गर्नपनि डा. वाग्लेले हार्दिक आग्रह गरेका थिए ।
नेपालको सरकारी पक्षले आफ्नो उम्मेदवारका लागि दह्रो क्षेत्रीय ‘लबिङ्ग’ नगरेको भन्ने चर्चाकाबीच नेपालबाट प्रतिपक्षी सांसदले मित्रराष्ट्रका राष्ट्राध्यक्षसमक्ष आग्रह गरेका हुन् ।
भेटघाटमा श्रीलंकाली आर्थिक सङ्कटबारे डा. वाग्लेले प्रा डा प्रेमचन्द्र आथुकोरालासँग सह-लेखन गरेको आफ्नो प्राज्ञिक शोधपत्रको एक प्रतिपनि हस्तान्तरण गरेका थिए ।




