काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले अनधिकृत व्यक्त्तिको प्रवेश र गलत क्रियाकलाप रोक्न बुधबारदेखि कार्गो भवनमा फ्ल्याप गेट सञ्चालनमा ल्याएको छ ।प्रहरी रिपोर्ट र भन्सार कार्यालयको सिफारिसपछि नेपाल नागरिक उड्डयन प्राधिकरणकबाट वितरण हुने ‘वाई’ पास बाहकले मात्र यो गेट पार गर्न सक्नेछन् ।
गत साउन २ मा कार्गो भवनबाट गाडीको ब्रेकशु भित्र लुकाई तस्करीको सुन बाहिरिएपछि विमानस्थल भन्सार कार्यालयले प्रवेशमा कडाई गरेको हो । सो घटनामा अनाधिकृत व्यक्त्तीको प्रवेश देखिएपछि विभिन्न निकायको सिफारिसका आधारमा भन्सार कार्यालयले कार्गो भवन प्रवेशका लागि फ्ल्याप गेट सञ्चालनमा ल्याएको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रवेशका लागि अंग्रेजी अल्फावेट ‘ए’ देखि ‘एल’ सम्मको पास उपलब्ध गरानेछ । सर्वसाधारणहरुले आफ्नो लगेज छुटाउन भन्सार एरियामा प्रवेश गर्नुपरेमा भिजिटर पास लिई प्रवेश गर्न पाउने व्यवस्था गरिएको छ । हाल भन्सारका कर्मचारी, भन्सार एजेन्ट र सामान लोड अनलोड गर्ने श्रमिकलाई मात्र फोटोसहितको पास उपलब्ध गराइएको भन्सार प्रमुख टोकराज पाण्डेले बताए ।




