देश

इलामका ५ मजदुर बाढी पहिरोका कारण सिक्किममा वेपत्ता

काठमाडौं । इलाम नगरपालिका –९ का ५ जना कामको सिलसिलामा भारतको उत्तरी सिक्किममा बेपत्ता भएका छन् ।सिक्किममा बाढी र पहिरोका कारण उनीहरु वेपत्ता परेका हुन् । जिल्ला प्रशासन कार्यालय इलामका अनुसार बाढी पहिरोपछि उनीहरू परिवारको सम्पर्कमा आउन सकेका छैनन् ।नर्थ सिक्किमको लाचेन क्षेत्रबाट बेपत्ता भएको इलामका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिए ।

लाचेनमा गुम्बा बनाउने मजदुरका रूपमा काम गरिरहेका थिए । इलाम–९ गोलाखर्कका सेनबहादुर कार्की, लाक्पा शेर्पा, नरमाया बस्नेत, कुमार बस्नेत र खुसी बस्नेत असोज १७ गतेबाट परिवारको सम्पर्कमा नरहेको इलामको सीडीओ पोखरेलले जानकारी दिए ।

अहिले परिवार स्रोतले वेपत्ता परेकाहरुको खोजी गरिदिनका लागि जिल्ला प्रशासन कार्यालय इलाममा अनुरोध गरेका छन् ।
सिक्किमको ल्होनाक ताल फुटेपछि सिक्किममा बाढी र पहिरोले मानिसहरुलाई आपतमा पारेको थियो ।

उक्त क्षेत्रमा बाढी पहिरोका कारण विद्युत सेवा र संचार समेत अवरुद्ध बन्न पुगेको छ । जिल्ला प्रशासन कार्यालय इलामका अनुसार अहिले वेपत्तामा परेकाहरुको खोजी कार्य जारी छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *