काठमाडौं । पूर्वअरनिको यातायातको अगुवाइमा काठमाडौंको जडिबुटीमा निर्माण भएको बसपार्क नभत्काउन काठमाडौं महानगरपालिकालाई उच्च अदालत पाटनले आदेश दिएको छ । न्यायाधीश गोकर्ण डाँगीको इजलासले बसपार्क नभत्काउन काठमाडौं महानगरपालिकालाई अन्तरिम आदेश दिएको हो ।
अदालतले निवेदकको माग बमोजिमको आदेश किन जारी हुन नपर्ने हो? जारी नपर्ने आधार, कारण र प्रमाण भए सबूद प्रमाणसहित म्याद, सूचना पाएका मितिले बाटाका म्याद बाहेक १५ दिन भित्र आफै वा कानून वमोजिमको वारेस मार्फत लिखित जवाफ पेश गर्नुहोला भनी प्रस्तुत आदेश र निवेदनपत्रको प्रतिलिपि साथै राखी विपक्षीहरुका नाममा म्याद, सूचना जारी गरी म्यादभित्र लिखित जवाफ परे वा अवधि व्यतित भएपछि नियमानुसार पेश गर्नू भनि उच्च अदालत पाटनले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
अन्तरिम आदेश माग गरेतर्फ विचार गर्दा, निवेदनमा उठाइएका विषयवस्तु र प्रकृतिबाट दुवै पक्ष राखी छलफल गरे पश्चात मात्र अन्तरिम दिने वा नदिने तर्फ आदेश गर्न उपयुक्त हुने देखिएकाले २१ गते का लागि पेशी तोकिएको छ ।
कम्पनीले बसपार्क संचालनका लागि व्यक्तिहरुको निजी जग्गा भाडामा लिई निर्माण गरेका संरचनाहरुलाई तोडफोड गर्ने तथा भत्काउने कार्य नगर्न र नगराउन मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा १५८(२))ख)तथा उच्च अदालत नियमावली, २०७३ को नियम ४२(१)क बमोजिम अदालतले विपक्षीहरुका नाममा अल्पकालिन अन्तरिम आदेश जारी गरेको छ ।
२०२९ सालदेखि निरन्तर यात्रुहरुलाई सेवा दिदै आएको अरनीको यातायात ४६ बर्ष सम्म आइपुग्दा यात्रुहरुमा एउटा राम्रो छाप बसाउन सफल भएको छ । विशेष गरेर अरनीको राजमार्ग र बीपी राजार्गमा यो यातायातले यात्रुहरुको लागि सेवा दिदै आएको छ । सुरुवातीका दिनहरुमा बाटो कच्ची हुदा समितिले नै डोजर लगाएर बाटो बनाउने देखि बाटो सफा गर्ने सम्मका काम गरेर आज अरनिको यातायातले यात्रुहरुको सेवालाई मध्यनजर राख्दै सेवा सुविधाहरु दिइरहेको अध्यक्ष केदार बहादुर क्षेत्रीले बताए । उनका अनुसार अरनिको यातायात नाफामुखी नभएर सेवामुखी रुपमा सञ्चालन हुदै आएको छ । काठमाडौं महानगरपालिकाले उक्त बसपार्क भत्काउने रणनीति बनाइरहे पनि कुनै पनि हालत उक्त वसपार्क भत्काउन नदिने अध्यक्ष क्षेत्रीले जानकारी दिए ।





