राजनीति

बालेनलाई ओलीको कटाक्ष – दम्भ र घमण्डले मान्छेलाई बिगार्छ

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौं महानगरपालिकाका नगर प्रमुख बालेन्द्र शाहको आलोचना गरेका छन् ।

बागमती प्रदेश अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै ओलीले इशान अधिकारी उर्फ ईः लगायतका केही अभियन्ताहरुले गरेको विरोधप्रति ध्यान नदिएको भन्दै आलोचना गरेका हुन् ।

ओलीले बालेन नाम नलिएर नै उनले तिनका नेतासँग वार्ता गर्न जाने भन्दै दम्भ र घमण्ड देखाएको बताए ।

उनले भने- ‘सरकारले केही सोधेन एकजनाले जोसँग सम्बन्धित छ विषय तीनका नेताहरुसँग वार्ता गर्नुपर्ने ? तीनका नेता खोज्दै जानुपर्ने वार्ता गर्नुपर्ने ? आदि अभिव्यक्ति गर्या सुनें, दम्भ र घमण्डले मान्छेलाई बिगार्छ । समस्या बल्झाएर कोही सफल हुँदैन ।’

ओलीले नगरप्रहरीको ज्यादति आफुले पनि टेलिभिजनमा हेरेको भन्दै त्यसलाई ‘तमाशा’ को संज्ञा दिए । फुटपाथ व्यवसायीलाई अर्को व्यवस्था नहुन्जेल सडकमै व्यवसाय गर्न दिनुपर्ने बताउदै ओलीले भने- ‘ती युवाहरु नगरप्रहरीको ज्यादतिविरुद्ध उभिएका हुन् । मैले यसो टेलिभिजनहरुमा हेर्छु । नगरप्रहरीको व्यवहार तमासा छ । सिटी बजाउँदै आतंक मच्याउँदै कुदेका छन् । त्यसले समाधान हुँदैन । सडकमै बेच्नुपर्छ भन्ने छैन । विकल्प दिऔं ।’

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *