राजनीति

स्थायित्वको लागि कोशीमा कांग्रेस-एमाले मिलेर सरकार बनाउनु पर्छ : राप्रपा अध्यक्ष लिङ्देन

विराटनगर।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले कोशी प्रदेश सरकारमा जाने विषय आफ्नो पार्टीको प्राथमिकतामै नभएको दाबी गरेका छन् ।

शनिबार मोरङ पुगेका उनले विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कोशी प्रदेशको स्थायित्वको लागि ठूला दल एमाले र कांग्रेस मिलेर सरकार बनाउनुपर्ने बताए ।

उनले कोशीमा एमाले नेतृत्वको सरकारमा जाने विषयमा कुनैपनि छलफल नै नभएको दाबी गरेका छन् । उनले भने, ‘यो विषयमा अहिले कुनैपनि छलफल नै भएको छैन । हामीले त स्थायित्व चाहिएको हो भने सकेसम्म कांग्रेस र एमाले मिलेर सरकार बनाउनु भनेका छौ । हाम्रो त प्रदेश प्राथमिकताको विषय नै होइन ।’

कुनै पनि सरकार आफ्नो प्राथमिकतामा नभएको जिकिर गरेका उनले कोशीमा अब एमाले र कांग्रेस मिल्नै नसक्ने अवस्था आयो भने संविधानको रक्षार्थ आफ्नो मत दिने स्पष्ट पारेका छन् । तर, उनले कोशीमा एमाले र कांग्रेस मिलेरै प्रदेश सरकारलाई स्थायित्व दिनुपर्नेमा जोड दिए ।

‘अहिले हामी कुनै पक्षमा नलागी दिँदा खेरि यहाँ प्रदेश सभा नै विघटन हुनसक्ने परिस्थिति बनेको अवस्था छ । तर, त्यो कुनबेला हो भन्दा कांग्रेस र एमाले मिलेन भने हो ।’ उनले भने ‘त्यो अवस्थामा मात्रै हामी कतै लागिदिए हुन्थ्यो भन्ने कुरा हो र सबैभन्दा पहिलो उपयुक्त कुरा त अहिलेको व्यवस्थाको संस्थापकहरू मिलेर यो प्रदेश सभालाई जोगाए राम्रो हुन्थ्यो । त्यसको मौका अझै तीस दिन छ, अझै अर्को धारा बाँकी छ । मेरो शुभकामना छ कांग्रेस र एमाले मिलेर यहाँ सरकार बनोस ।’

त्यस्तै लिङ्देनले बिनासर्त आफ्नो पार्टीले एउटा संसदीय समितिको नेतृत्व गर्ने मौका पाएको दोहोर्याएका छन्।

कोशी प्रदेशको सरकारमा सहभागी गराउन नेकपा माओवादीको भागमा परेको पूर्वाधार विकास समितिको नेतृत्व पाएको कुरामा कुनै लेनदेन नभएको उनको भनाई रहेको छ ।

‘खासगरी राष्ट्रिय मान्यता प्राप्त दलहरूलाई सङ्ख्याको आधारले समितिमा प्रतिनिधित्व गराउने भन्ने कुरा प्रारम्भदेखि उठिराखेको थियो । बीचमा त्यो भत्किएको थियो । हामीले दावी गरिऊँ र अहिले सत्तामा बसेको दलहरू र प्रमुख प्रतिपक्षले स्वीकार गर्यो र हामीले आफ्नो सिट संख्या अनुसार एउटा समितिको नेतृत्व गर्ने मौका पाएका छौ । त्यसमा कुनै प्रकारको लेनदेन छैन ।’

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *