धर्म/सस्कृति

जनैपूर्णिमामा म्याग्दीका शक्तिपीठमा चहलपहल

म्याग्दी।जनैपूर्णिमा पर्वको अवसरमा म्याग्दीका शक्तिपीठमा भक्तजनको चहलपहल बढेको छ । मनोकांक्षा पूरा हुने विश्वासका साथ म्याग्दीका विभिन्न धार्मिकस्थल र तलाउमा बिहानैदेखि भक्तजनको घुइँचो बढेको हो ।

जनैपूर्णिमा पर्वमा मात्रै विशेष पूजा हुने म्याग्दीको रिखार, खयरभारनी, नौली बराह, नाँगी बराही, पेरी भारानीलगायतका शक्तिपीठमा पूजाआजा गर्नका लागि हजारौँ भक्तजन पुगेका छन् ।

अन्नपूर्ण गाउँपालिका–५ पाउद्वारको खयरभारनी थानमा पूजाआजा र तलाउमा स्नानका लागि एक हजार बढी भक्तजन पुगेका छन् ।

समुद्री सतहदेखि चार हजार छ सय ३० मिटर उचाइमा अवस्थित खयरभारनी थानमा जनैपूर्णिमाको दिन पूजाआजाका लागि म्याग्दीका साथै छिमेकी जिल्लाबाट समेत भक्तजन पुगेको वडाध्यक्ष राजेश तिलिजाले जानकारी दिए । उनका अनुसार, मौसम अनुकूल भएपछि विगतका वर्षहरुको तुलनामा उल्लेख्य मात्रामा भक्तजन र तीर्थयात्री खयर आएका छन् ।

पाउद्वार हुँदै खयरभारानी जाने तीर्थयात्री खोप्रामा पर्यटन सहकारीमार्फत सामुदायिक लजका साथै खयरभारानी क्षेत्र संरक्षण समितिले बनाएको अस्थायी टेन्टमा आश्रय लिएर बस्ने व्यवस्था मिलाइएको छ ।

क्षमताभन्दा बढी तीर्थयात्री आएपछि आवास व्यवस्थापनमा समस्या भएको छ । खयरभारानीको दर्शनका लागि तीन दिनेअघिदेखि नै पर्यटक र तीर्थयात्री पैदलयात्रा हुँदै खयर पुग्न थालिसकेका थिए ।

त्यसैगरी रघुगंगा गाउँपालिका–८ मा धौलागिरि हिमालको काखमा करिब चार हजार पाँच सय मिटर उचाइमा अवस्थित रिखारमा समेत भक्तजनको बिहानैदेखि भीड लागेको छ ।

जिल्ला सदरमकाम बेनीदेखि रिखार पुग्न दुई दिनको पैदलयात्रा गर्नु पर्छ । पानीको तलाउनमा रहेको डुंगा आकारको ढुंगगामा निर्मित मन्दिर रहेको रिखार भक्तजन र पर्यटकको लागि अनौठो र आकर्षणको रुपमा रहेको छ ।

यी तलाउ र थानमा जनैपूर्णिमाको अवसरमा मनोकांक्षा पूरा हुने विश्वासका साथ भक्तजनले पूजाआजा र भाकल गर्ने चलन छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *