समाचार

ललिता निवास प्रकरणमा दुई प्रतिवादीको बयान सकियो, आज तीन जनाको बयान लिने

काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा दुई जना प्रतिवादीको बयान सकिएको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश भोलानाथ ढकालको इजलासमा सोमबार दुई जनाको बयान सकिएको थियो । मंगलबार ३ जनाको बयान लिने तयारी भइरहेको जिल्ला अदालत काठमाडौँले जनाएको छ । काठमाडौैँ जिल्ला अदालतका अनुसार बालकृष्ण श्रेष्ठ, कलाधार देउजा र मीन बहादुर गुरुङको बयान लिने तयारी छ । मीन बहादुर भाटभटेनी डेभलपमेन्ट कम्पनीका सञ्चालक हुन् ।

सोमबार शिवजी भट्टराई र रुद्र प्रसाद श्रेष्ठको बयान पुरा भएको छ । काठमाडौँ महानगरपालिका वडा नम्बर–४ को तत्कालीन वडा सचिव हुँदा शिवजी भट्टराई कागजात किर्तेमा संलग्न रहेको आरोमा केन्द्रीय अनुसन्धान ब्युरोले असार १७ उनलाई पक्राउ गरेको थियो ।

ललितपुर महानगरपालिका–१५ स्थित खुमलहाइट बस्ने रुद्र प्रसाद श्रेष्ठ भूमिसुधार तथा व्यवस्था विभागका तत्कालीन महानिर्देशक समेत रहेका रुद्रप्रसाद श्रेष्ठलाई असार २६ गते प्रहरीले नियन्त्रणमा लिएको थियो । संगठित किर्तेमा मुद्धा चलायने कुरा चलिरहेको बेला सरकारी वकिलको कार्यालयले संगठित मुद्धा नचलाएर किर्तेमा मात्र मुद्धा चलाएपछि उनले छुट पाएका छन् ।