काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपालको प्रथम अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले राजेन्द्र केसीकाे अध्यक्षमा नयाँ कार्यसमितिको चयन गरेकाे छ। अधिवेशनको उद्घाटन प्राडा वासुदेव त्रिपाठीले गर्नुभएको थियो । अधिवेशनले प्रथम उपाध्यक्षमा मन्जिला अनिल र द्वितीय उपाध्यक्षमा निर्मलरमण पराजुली निर्वाचित गरेकाे छ । समितिको महासचिवमा रन्जना निरौला, सचिवमा सुशिला खड्का हसिना र कोषाध्यक्षमा कमला रिसाल निर्वाचित भएका छन्।अधिवेशनको उदघाटन सत्रमा ‘राष्ट्रकवि माधवप्रसाद घिमिरे गीत पुरस्कार’ नगद २१,०००र( सहित वरिष्ठ सर्जक यादव खरेल र मरोपरान्त प्रेमध्वज प्रधानलाई प्रदान गरिएको थियो।
प्रेमध्वज प्रधानलाई प्रदान गरिएको पुरस्कार प्रधानका भान्जी एलिसा मास्केलाई हस्तान्तरण गरिएको थियो । उक्त अधिवेशनबाट वरिष्ठ कलाकार तथा स्रष्टा मदनदास श्रेष्ठले विशिष्ट सम्मानबाट सम्मानीत भएका थिए । राष्ट्रकवि माधव घिमिरे गीत पुरस्कारका संस्थापक वरिष्ठ गीतकार प्राज्ञ उन्नती बोहरा ‘शीला’, सम्पादक रमेश दाहाल, ठाडो भाका लोककला प्रतिष्ठान, नेपाल संस्कृति विश्वविद्यालय, जनकपुर उपमहानगरपालिका, गोरखकाली नगरपालिका, गोरखालाई कदरपत्र प्रदान गरिएको थियो।
‘अनेसास भानु विशेष सम्मान’ बाट भानु प्रतिष्ठानलाई र ‘भानु सम्मान’ बाट कविहरू क्रमशः डा. देवी नेपाल, प्रभा आचार्य, बलराम दाहाल रसरु बस्नेत सम्मानित भएका थिए।अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका संस्थापक अध्यक्ष होमनाथ सुवेदी, पूर्व अध्यक्ष गीता खत्री, अनेसासका पूर्व अध्यक्ष तथा साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली र अनेसासका निवर्तमान अध्यक्ष प्रकाश पौडेल माइला समेत उक्त सम्मानबाट सम्मानीत भएका थिए ।
अनेसास नेपाल च्याप्टरले कोभिडको कारण विश्व नै लकडाउनको अवस्थामा रहेको समयमा लकडाउन संस्मरण प्रतियोगिता गरेको थियो। सो प्रतियोगितामा प्रथम हुने बाबुराम न्यौपानेलाई नगद ३०,००० रुपैयाँ, द्वितीय हुने पवित्रा अधिकारीलाई नगद २०,००० रुपैयाँ र तृतीय हुने सम्झना निरौलालाई नगद १०,००० रुपैयाँ सहित प्रमाणपत्र प्रदान गरिएको थियो।
अधिवेशनमा वरिष्ठ गीतकार यादव खरेल, पूर्व अध्यक्ष राधेश्याम लेकाली, प्राडा गोविन्दराज भट्टराई, प्राडा खगेन्द्रप्रसाद लुइँटेल, सल्लाहकार प्रतीक ढकाल, केन्द्रीय उपाध्यक्ष डारेणुका सोलु, अध्यक्ष सन्ध्या पहाडी लगायतले मन्तब्य राखेका थिए । अधिवेशनको बन्दसत्रमा महासचिव ऋषभदेव घिमिरेले महासचिवको प्रतिवेदन र अध्यक्ष सन्ध्या पहाडीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए।
यसैगरी सदस्यहरुमा आकाश अधिकारी, डा शान्तिमाया गिरी, डिआर राई, शान्ति रिसाल, दुर्गाबहादुर शाह ‘बाबा’, सीता विष्ट कार्की, डा . हिरण्यलाल ज्ञवाली, सुमन वर्षा, सुचिता काफ्ले, द्वारिका कुइकेल र इन्दिरा ढकाल रहेका छन् ।




