समाचार

इन्जिनियरिङ्गतर्फ स्नातक तह अध्ययनका लागि बढाइएको शुल्क तत्काल फिर्ता लिन नेविसंघको माग

काठमाडौँ। नेपाली कांग्रेसनिकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले इन्जिनियरिङ्गतर्फको स्नातक तह अध्ययनका लागि अस्वभाविक रूपमा शुल्क बढाइएको भन्दै तत्काल फिर्ता लिन माग गरेको छ ।

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेविसंघ केन्द्रीय समितिले इन्जिनियरिङ शिक्षा विद्यार्थीको व्यक्तित्व विकासमात्र नभएर राष्ट्र निर्माण र विकासको बलियो आधार भएकाले शुल्क वृद्धिको निर्णयबाट त्रिभुवन विश्वविद्यालय र इन्जिनियरिङ्ग अध्ययन संस्थान (आईओई) पछाडि हट्नुपर्ने माग गरेको हो ।

गुणस्तरीय इन्जिनियरिङ अध्ययनका लागि नेपाली विद्यार्थीहरू प्रत्येक वर्ष ठूलो संख्यामा विदेश गइरहेको अवस्थामा स्वदेशमा रहेका क्याम्पसहरुमा चर्को शुल्कवृद्धि गरिनु बुद्धिमानी नहुने नेविसंघको ठहर छ ।

पत्रकार सम्मेलनमा नेपाल विद्यार्थी संघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले अध्ययनका लागि युवाहरु बाहिर गएको अवस्थामा देशमै बसेर पढ्छु भन्ने विद्यार्थीलाई पनि चर्को शुल्क वृद्धिका पढ्ने अवस्था नभएको बताए ।

उनले तीन दिनभित्र शुल्क वृद्धि फिर्ता नभए कडा आन्दोलनमा उत्रिने चेतावनीसमेत दिए । इन्जिनियरिङ्ग अध्ययन संस्थानले गत भदौ ४ गते सूचना प्रकाशित गरी स्नातक तहअन्तर्गत बीई/बीआर्क अध्ययनका लागि शुल्क वृद्धि भएको जानकारी गराएको थियो ।

शिक्षाको क्षेत्रमा आमूल परिवर्तनको आवश्यकता रहेको बताउँदै नेविसंघले यसका लागि प्राविधिक, व्यावहारिक र जीवन उपयोगी शिक्षालाई समय सापेक्ष रूपमा परिवर्तन गर्न आवश्यक रहेको जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *