काठमाडौँ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले भोलिदेखि नै उच्च र जिल्ला न्यायाधीश नियुक्तिको प्रक्रिया थाल्ने बताएका छन् । मंगलबार राष्ट्रपतिबाट शपथ ग्रहण गरेलगत्तै पदबहाली गरेका श्रेष्ठले यस्तो बताएका हुन् ।
उनले अब आफ्नो ध्यान छिटोछरितो न्याय प्रवाह गर्नतर्फ जाने पनि बताए । तर त्यसका लागि उनले न्यायपालिका बाहेकका अन्य निकाय र सरोकारवालाहरुले पनि त्यतिकै सहयोग र समन्वय हुन जरुरी रहेको उनको भनाइ छ ।
‘म आशा गर्छु अपिल पनि गर्छु सरोकारवाला निकायले पनि छिटो छरितो न्याय दिने काममा न्यायपालिकालाई सहयोग गर्नुस् । आवस्यक्ता पूर्ति गर्दिनुस्’, श्रेष्ठको आग्रह छ ।
उनले आफ्नो कार्यकालमा सबैको साथ र सहयोग रहनेमा विश्वास व्यक्त गर्दै न्यायपालिकामा न्यूनतम भन्दा न्यूनतम बजेट नपाउँदा कर्मचारीहरुलाई उत्प्रेरणा दिन र भरथेग गर्न नसकिएको बताए ।
श्रेष्ठले पारिवारिक अदालतका लागि आफ्नो विशेष पहल हुने बताए । कानुन मन्त्रालयबाट स्वीकृति भएपछि पारिवारिक अदालत स्थापना हुने उनले बताए । पारिवारिक अदालत स्थापना गठन नभए पनि पारिवारिक अदालत हेर्ने मुद्दाका लागि काठमाडौँमा कम्तिम दुई न्यायाधीश रहने डेडिकेटेड बेन्च सुरु गर्ने उनले बताए ।
उनले भने, ‘न्यायपालिकाको जनआस्था खस्किन नदिन काम गर्छु । न्यायालयप्रति जनताको आस्था भएन भने न्यायको आस पनि मर्छ । कुनै घटनाको छाप जनता र समाजमा लामो समयसम्म परिरहन्छ । त्यो छाप हटाउन न्यायपालिकाले काम गर्नुपर्छ र गर्छ । यद्यपि न्यायपालिकाप्रति अविश्वास नभएर अगाध आस्था र विश्वास छ भन्ने नै बुझेको छु, त्यसका लागि हामी काम गर्छौ ।’
श्रेष्ठले न्यायपालिकाको काम कारबाहीमा छिटो छरितो हुने आफूलाई विश्वास रहेको बताए । फरक मुद्दा व्यवस्थापन पद्धतिलाई आभास हुने गरी व्यवस्थापन गर्ने उनले बताए । उनले फैसला कार्यान्वयन राम्रो नभएका १७ स्थानलाई अभियानका रूपमा अगाडि बढाउने बताए ।
छानबिनमा तानिएका जिल्ला र उच्चका न्यायाधीशका सम्बन्धमा चाँडै टुंगो लगाइने उनको भनाइ छ।




