काठमाडौं । कोशी प्रदेशमा स्वास्थ्यमन्त्री तथा सचिवको निर्देशमा अस्पतालमा आवश्यक पर्ने उपकरण खरिद गर्न छुट्ट्याएको बजेट रकमान्तर गरी अन्यत्रै खर्च गरेको पाइएको छ। मोरङ उर्लाबारीस्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरका लागि सिटी स्क्यान मेसिन खरिद गर्न रातो किताबमा समावेश बजेट रकमान्तर गरी अन्यत्रै खर्च गरेको पाइएको हो ।
उपकरण खरिदका लागि छुट्टाइएको चार करोड रुपैयाँमध्ये ५० प्रतिशतभन्दा बढी अर्थात् दुई करोड २८ लाख रुपैयाँ ऐनविपरीत रकमान्तर गरिएको हो। ऐनअनुसार कुल बजेटको १० प्रतिशत भन्दा बढी रकमान्तर गर्न पाइँदैन। तत्कालीन मुख्यमन्त्री राजेन्द्रकुमार राई नेतृत्वको सरकारले आर्थिक वर्ष २०७९–०८० मा सिटी स्क्यान मेसिन खरिदका चार करोड रुपैयाँ बजेट छुट्ट्याएको थियो।
कोशी प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालयबाट प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र मोरङलाई उपकरण खरिद गर्न चार करोड रुपैयाँ बजेट निकासासमेत भएको थियो। तर व्यवस्थापन केन्द्रले सिटी स्क्यान मेसिनको सट्टा एम्बुलेन्स र शववाहनका लागि बदमासीपूर्ण ढंगले सो रकम खर्च गरेको पाइएको छ। जसकारण ट्रमा सेन्टरका लागि चालू आवमा खरिद गर्ने भनिएको सिटी स्क्यान मेसिनको खरिद प्रक्रिया नै रोकिएको छ।
केन्द्रले छुट्ट्याएको रकममध्ये दुई करोड २८ लाख रुपैयाँ एम्बुलेन्स र शववाहन खरिदको भुक्तानी दिएको हो। जसमा तत्कालीन स्वास्थ्यमन्त्री निमर्ला लिम्बू र स्वास्थ्य सचिव डा.अनुज भट्टचनसमेतले बजेट रकमान्तर गर्न स्वीकृति दिएको देखिन्छ।
मन्त्री लिम्बू, स्वास्थ्य सचिव भट्टचन र प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र मोरङका कार्यालय प्रमुख शम्भु साहको पालामा सिटी स्क्यान मेसिन खरिदको रकम फरक शीर्षकमा खर्च भएको छ। लिम्बू अहिले पनि स्वास्थ्यमन्त्री नै छिन् । सचिव भट्टचन र कार्यालय प्रमुख साहको सरुवा भइसकेको छ।
साहले गत पुस १३ गते अघिल्लो आर्थिक वर्षमा खरिद गरेका पाँचवटा एम्बुलेन्स र दुईवटा शववाहन खरिदको भुक्तानी चालू आवमा दायित्व सरेर आएकोमा स्वास्थ्य उपकरण खरिदको बजेटबाट दायित्व सरेर आएको शीर्षकमा भुक्तानी दिएका थिए। कार्यालय प्रमुख साह हाल प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटामा कार्यरत छन् ।
प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र मोरङले आर्थिक वर्ष २०७८–८९ मा पाँच वटा एम्बुलेन्स र दुई वटा शववहान खरिद गरेको थियो। कार्यालयले अघिल्लो आवको एम्बुलेस र शववाहन खरिदको बिल असार २४ गते पठाएको थियो, जसका कारण भुक्तानी रोकिन पुगेको थियो। स्वास्थ्य मन्त्रालयको खाता बन्द भएपछि र बिल भुक्तानी रोकिएपछि कार्यालयले एम्बुलेन्स र शव बहान खरिदबापतको भुक्तानी गर्नुपर्ने दुई करोड २८ लाख रुपैयाँको दायित्व सरेर चालू आवमा आएको थियो। सो रकम उपकरण खरिदको बजेटबाट कार्यालयले भुक्तानी गरेको हो।
प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र मोरङका प्रमुख डा. वीरेन्द्रकुमार मण्डलले अघिल्लो आर्थिक वर्षको दायित्व सरेर आएको रकम भुक्तानी पाइएको बताए । ‘रातो किताबमा प्रष्ट रूपमा समावेश कार्यक्रमको बजेट गैरशीर्षकमा खर्च गरेको देखिन्छ,’ मण्डलले भने, ‘यो कसरी सम्भव भयो, मलाई थाहा भएन। यो खर्च गर्ने विधि र प्रक्रिया गलत भएको देखिन्छ।’
मण्डलका अनुसार स्वास्थ्य उपकरण खरिदका लागि चार करोड रुपैयाँ रातो किताबमा उल्लेखित शीर्षकअनुसार प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन कार्यालयको कार्यक्रम निर्देशिकामा पनि उल्लेख गरेको पाइएको छ। ‘सोहीअनुसार युरोप, अमेरिका या जापानमा बनेको १२८–७४ स्लाइन्स सिटी स्क्यान मेसिन खरिदार्थ सात करोड ८३ लाख रुपैयाँ भ्याटसहितको लागत स्टिमेट गरेको देखिन्छ,’ उनले भने, ‘तर कुल चार करोड रुपैयाँमध्ये दुई करोड २८ लाख रुपैयाँ गैरशीर्षकमा भुक्तानी गरिएपछि मेसिन खरिदका लागि छुट्ट्याइएको एक करोड ९१ लाख र पछि स्वास्थ्य मन्त्रालयबाट थप एक करोड ५० लाख गरी कुल तीन करोड ४१ हजार रुपैयाँ बजेट फ्रिज भएको छ।’
कोशी प्रदेश स्वास्थ्य मन्त्रालयकी सचिव डा.सुधा देवकोटाले पनि उपकरण खरिदको रकम गैरशीर्षकमा गलत तरिकाले भुक्तानी दिइएको देखिएको बताइन् ।मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरका मेडिकल सुपरिटेन्डेन्ट डा. रविकुमार साहले प्रदेश सरकारले एक वर्षअघि नै उपकरण उपलब्ध गराउने प्रतिबद्धता जनाएको भए पनि सो उपलब्ध नहुँदा ट्रमाको उपचार सेवामा समस्या हुने गरेको बताए।




