धर्म/सस्कृति

आज अधिकमास सकिँदै

काठमाडौं। यही साउन २ गते शुरु भएको अधिकमास अर्थात् मलमास बुधबार सकिँदैछ। बुधबार दिउँसो २१ घडी ५ पला अर्थात् २ बजेर १ मिनेटसम्म औँसी तिथि छ।

सामान्यतया एउटा सौरमासमा दुईवटा औँसी पर्दा अधिकमास हुन्छ। यो महिना साउन २ गते र बुधबार औँसी परेको हो।

भगवान् विष्णु अर्थात् पुरुषोत्तम​को आराधना गरिने भएकाले मलमासलाई पुरुषोत्तम महिना पनि भन्ने गरिएको छ।

मलमासको अन्तिम दिन आज श्रद्धालुले व्रत, उपवास, विष्णु भगवानको जप, पूजा, भजन कीर्तन तथा पुराण पाठ गर्नुका साथै दान गर्ने प्रचलन छ। काँसको थालमा भगवान् विषणुका नामले ३३ वटा मालपुवा राखेर तिल र सुनको प्रतिमासहित वस्त्रले ढाकेर दान गर्ने परम्परा छ।

प्रत्येक तीन वर्षमा एकपटक आउने मलमास अवधिमा कुनै पनि शुभ र नयाँ कार्यको थालनी गर्न नहुने परम्पराअनुसार यो बीचमा कुनै चाडपर्व नपरेका नेपाल पञ्चाग निर्णायक समितिका पूर्व अध्यक्ष प्राध्यापक डा.रामचन्द्र गौतमले बताए। मलमास सम्पन्न भएसँगै शुद्ध महिनाका तिथि शुरु हुनेछ। मलमासका कारण यस वर्ष जनैपूर्णिमा, तीज दशैँ र तिहार जस्ता चाडपर्व झण्डै एक महिना पछाडि धकेलिएका छन्।

सूर्यमानअनुसार वर्षमा ३६५ दिन र चान्द्रमान अनुसार वर्षमा ३५४ दिन हुन्छ। यसरी हेर्दा सूर्य र चन्द्रमानबीच वर्षमा लगभग ११ दिनको फरक आउँछ। तीन वर्षमा ३३ दिनको फरक पर्ने भएपछि त्यही एक महिनालाई अधिकमास भन्ने गरिएको हो।

अधिकमास पर्ने वर्षमा सूर्यमानअनुसार वर्षमा १२ वटै महिना रहे पनि चान्द्रमान अनुसार १३ वटा महिना पर्न आउँछ। सूर्य र चन्द्रमाको गति मिलाउन अधिकमास पर्छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *