देश

नारायणगढ–बुटबल सडक : पश्चिम खण्डको म्याद एकवर्ष थप

नवलपुर।सुस्त गतिमा विस्तारको काम भएको गुनासो आइरहेको पूर्वपश्चिम राजमार्ग अन्तर्गत नारायणगढ–बुटवल खण्डको म्याद एक वर्ष थप गरिएको छ ।

सुरुआती ठेक्का सम्झौत अनुसार अघिल्लो वर्षको साउन २२ मा सडक निर्माणको काम सकिनु पर्नेमा अहिले दोस्रोपटक म्याद थप गरिएको छ ।

आयोजना निर्देशनालय (एडीबी)का आयोजना निर्देशक चुडा ढकालले निर्माण कम्पनीको म्याद थप गरिएको जानकारी दिए । उनका अनुसार नारायणगढ बुटवल सडक आयोजना पश्चिम खण्डको म्याद तीन सय ५० दिन थप भएको र पूर्वी खण्डको म्याद तीन सय ३० दिन थप गर्नेगरी छलफल अघि बढेको छ ।

पश्चिम खण्डको म्याद ६ अगस्टमा सकिएकाले म्याद थप भइसकेको र पूर्वी खण्डको म्याद २८ अगस्टमा सकिने भएकाले प्रक्रियामै रहेको जनाउँदै म्याद थप हुने निर्देशक ढकालले बताए । ‘निर्माण कम्पनीले सडक विस्तारको काम छिटो सम्पन्न गर्नका लागि ठूलो अक्स्पाल्ट प्लान्ट (कालोपत्र गर्ने उपकरण) भित्र्याउँदैछ, केही दिनमा कस्टम क्लियर (भन्सारजाँच) भएर नेपाल भित्रिन्छ,’ उनले भने, ‘त्यसपछि काम छिटो हुन्छ भन्ने हामीले विश्वास लिएका छौँ ।’

अहिले काम गरिरहेको ठेकेदारलाई खेदेर अर्को ठेक्का लगाउँदा सडकको काम सकाउन अझै चार/पाँचवर्ष पछाडि धकेलिने भएकाले यसैको ठेक्का थप गरेर अघि बढ्नुको विकल्प नभएको उनले बताए ।

निर्माण सामग्री नपाएको, विद्युत्का तार नसारेको, रूख कटानमा ढिला गरेको लगाएका कारण देखाउँदै उनीहरु अदालत जाने तयारी गरेका बेला ठेक्का थप गर्नुको विकल्प नदेखिएको उनको भनाइ छ ।

निर्माण व्यवसायीले दुई वर्ष म्याद थप गर्न निवेदन दिएकोमा आफूहरूको दुई महिनासम्मको छलफलपछि करिब एक वर्ष म्याद थपको निर्णय गरिएको उनको भनाइ छ । सडक विस्तारको काम गरिरहेको चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसन लिमिटेडका ठेक्का सह व्यवस्थापक राकेश झाका अनुसार अहिले दुवै खण्डमा गरी करिब ३८ प्रतिशत भौतिक प्रगति भएको छ ।

एशियाली विकास बैंकको ८५ प्रतिशत ऋण सहयोगमा विस्तारको काम भइरहेको एक सय १४ किलोमिटर सडक मध्ये पूर्वी खण्डमा ६५ किलोमिटर र पश्चिम खण्डमा ४९ किलोमिटर सडक पर्दछ । उनका अनुसार पूर्वी खण्डमा हाल ४० प्रतिशत र पश्चिम खण्डमा ३६ प्रतिशत भौतिक प्रगति भएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *