देश

मालपोत अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वीरगंज मालपोत कार्यालयका अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

राजस्व चुहावट गरी भ्रष्टाचार गरेको आरोपमा मालपोत अधिकृत हरिनारायण मिश्र, सनद कुमार द्वीवेदी ब्रह्मण र चन्द्रबहादुर भण्डारीसहित ६ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्धा दायर गरेको हो ।

रजिष्ट्रेशन पास गर्दा लिखतहरुमा घरबाटो सिफारिस विना न्यूनतम मूल्याङ्‍कनभन्दा कम मूल्य राखी राजस्व हिनामिना हुने गरी ब्यक्तिगत लाभ लिई लिखत पारित गरेको भन्ने उजुरी निवेदनकाे आधारमा गरिएको अनुसन्धानबाट उक्त आरोप पुष्टि भएको आयोगका प्रवक्ता भोला दाहालले जनाएको छ ।

मालपोत अधिकृत हरिनारायण मिश्र, मालपोत अधिकृत सनद कुमार द्वीवेदी ब्रह्मण, मालपोत अधिकृत चन्द्रबहादुर भण्डारी, कम्प्युटर अधिकृत कमोद तिवारी, नासु रामेश्वर प्रसाद साह र नासु लेखनाथ भट्टराईले फाँट ‘क’ बाट १७ वटा र फाँट ‘ग’ बाट २ वटा लिखतहरू पारित गर्दा लाग्ने राजस्व निर्धारण गर्दा आफूले पूरा गर्नुपर्ने तोकिएको दायित्व र जिम्मेवारी पूरा नगरी बदनियतपूर्वक गरेको कार्यबाट ४ करोड, २५ लाख, ५ सय ३१ रुपैयाँ २० पैसा राजस्व चुहावट गरेको अख्तियारको ठहर छ ।

उनीहरू विरुद्ध भ्रष्टाचार भएको रकमको दोब्बर रकम जरिवाना विगो माग दावी गर्दै अदालतमा मुद्धा दायर गरेको आयोगले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *