काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले निजामती सेवा विधेयक आगामी साता मन्त्रिपरिषद्मा पेश हुने बताएका छन ।
अर्थ सरोकार अनलाइनको सातौँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा मन्त्री मोदीले आफू पदमा आएको पहिलो दिनदेखि उक्त विधेयक निर्माणमा लागेको जनाउँदै अर्थ मन्त्रालय र कानुन मन्त्रालय हुँदै विधेयक आगामी साता क्याबिनेटमा जाने जानकारी दिए। उनले ढुङ्गा–गिट्टी तथा फोहरमैला व्यवस्थापनसम्बन्धी बेग्लाबेग्लै विधेयक पनि ल्याउने तयारी भएको बताए।
मन्त्री मोदीले निजामती कर्मचारी स्थायी सरकार भएकोले जहाँ आवश्यक पर्छ त्यहाँ जान तयार हुनुपर्ने पनि बताए । कार्यक्रममा धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले पछिल्लो समयमा नीतिगत सुधारका कारण पूँजी बजारमा सुधार आएको बताए ।
आर्थिक मिडिया सञ्चालक सङ्घ (इमान) का अध्यक्ष रोयल आचार्यले मुलुकको आर्थिक समृद्धिका लागि सञ्चार क्षेत्रको पनि सकारात्मक भूमिका हुने बताए ।




