देश

मालिका गाउँपालिकाको प्रगति विवरण सार्वजनिक, आवास कार्यक्रम अन्तर्गत ५८ लाभग्राहीलाई दोस्रो किस्ता भुक्तानी

काठमाडौं । म्याग्दीको मालिका गाउँपालिकाले आर्थिक वर्ष २०७९/०८० को प्रगति प्रतिवेदन सार्वजनिक गरेको छ । सोमबार गाउँपालिकाको केन्द्र दरवाङमा आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत चुर्णबहादुर कार्कीले प्रतिवेदन सार्वजनिक गरेका हुन् ।

गाउँपालिकाले सार्वजनिक गरेको प्रतिवेदन अनुसार गत वर्ष ५८ करोड १८ लाख ४४ हजार ६७७ रुपैयाँ बिनियोजन भएकोमा ४१ करोड ६१ लख ७० हजार ९१७ रुपैयाँ अथवा ७१.५२ प्रतिशत बजेट खर्च भएको छ । गाउँपालिकाको संचित कोषमा पाँच करोड ३३ लाख ७९ हजार ८८० रुपैयाँ रहेको छ । मालिका गाउँपालिकाले गत वर्ष ५१ लख ७४ हजार रुपैयाँ आन्तरिक आम्दानी गरेको थियो ।

मालिका गाउँपालिकाले उपभोक्ता समिति मार्फत १५२ वटा, अमानतबाट २१ वटा, विद्यालय व्यवस्थापन समितिबाट ६ वटा र आठ वटा योजना सम्बन्धी सफ्टवयर योजना ठेक्का मार्फत कार्यान्वयन ल्याउने तयारी गरेको जनाइएको छ । यस्तै गाउँपालिकाले आठ वटा कार्यविधि, नियमावली, मापदण्ड तथा पाँच वटा ऐन बनाएर दरवाङमा गाउँपालिकाको प्रशासकीय भवन निर्माणका लागि जग्गा खरिदको प्रक्रीया समेत अगाडी बढाएको छ ।

यस्तै ५९ वटा व्यवसाय दर्ता, १८२ वटा नविकरण र ९ वटा बन्द भएका छन । यस्तै गाउँपालिकाले मनसुन विपद्बाट क्षतिग्रस्त ११४ घरधुरीको सर्वेक्षण, सुरक्षित नागरिक आवास कार्यक्रमका ५८ जना लाभग्राहीलाई दोस्रो किस्ता भुक्तानी गरेको छ भने चार वटा झोलुङ्गे पुल निर्माण भएको र नेवा परियोजना मार्फत चालु आर्थिक वर्षमा ६ वटा खानेपानी आयोजना कार्यान्वयनमा ल्याउने जनाएको छ ।

जन्म, मृत्यु, बिवाह, बसाईसराई र सम्बन्ध बिच्छेद सम्बन्धी एक हजार २०७ वटा व्यक्तिगत घटना दर्ता, तीन हजार ३८ जनालाई सामाजिक सुरक्षा भत्ता , शिक्षक सेवा आयोगबाट सिफारिस भएका १८ जना स्थायी शिक्षकहरुको पदस्थापना र ११ वटा शिक्षक अनुदान कोटा वितरण गरेको प्रतिवेदन उक्त गाउँपालिकाले सार्वजनिक गरेको छ ।

यसैगरी राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम २ वटा २ कोठे, २ वटा चार कोटे, २ वटा आइसिटि कार्यक्रम सम्झौता भएकोमा २ वटा योजना सम्पन्न गर्दै ७६५ जना विद्यार्थीलाई शैक्षिक सामग्री, विद्यालयहरुमा सात थान डेक्सटप कम्प्युटर र १४ थान प्रिन्टर वितरण गाउँपालिकाले गरेको छ ।

गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा देखिएका समस्या समाधानका लागि दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई पाँच शैया क्षमताको आधारभूत अस्पतालमा स्तरोन्नति गर्ने निर्णय गरेको । गाउँपालिकाले सार्वजनिक गरेको तथ्याङक अनुसार १९६ जनाले स्वास्थ्य संस्थामा पुगेर सुरक्षित प्रसुति सेवा लिएका छन् भने १८ जनाले घरमै बच्चा जन्माएका छन् ।

गाउँपालिका गर्भवतिहरुलाई वडा स्तरमा पुगेर भिडियो एक्सरे सेवा दिन सक्षम भएको छ । यस्तै पशु विकास शाखाले १, २, ६ र ७ नम्बर वडामा ५० प्रतिशत अनुदानमा ४० वटा माउ बाख्रा वितरण र ४ वटा प्रजनन योग्य बोका वितरणका साथै लम्पी स्किन रोग विरुद्धको खोप अभियान सञ्चालन गरेको गाउँपालिकाले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ ।

मालिका गाउँपालिकाले कृषि क्षेत्रमा रहेका किसानहरुको आर्थिक अवस्था सुधार गर्नका लागि २५० रोपनीमा आलुको पकेट कार्यक्रम सञ्चालन गरि ७० प्रतिशत अनुदानमा आलु विउ वितरण गरेको छ भने २९२ रोपनीमा सुन्तला र ८४ रोपनीमा किवी खेती विस्तार गर्नुका साथै मालिका गाउँपालिकाको वडा नम्बर ३ किटिनीमा चार हजार ८०० चियाका बिरुवा रोपिएको छ । ९२ जना नयाँ उद्यमी सिर्जना र ४७ जना उद्यमीको स्तरोन्नतिका साथै पात्लेमा साझा सुविधा केन्द्रको भवन निर्माण र ५ वर्ष उद्यम विकास रणनीतिक योजना तयार गरेको छ ।

२५ जनालाई अपांगता परिचयपत्र वितरण, (ग) वर्गका अपाङ्ग भएकाहरुको निशूल्क स्वास्थ्य बिमा गरेको छ । महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाले ७ वटा वडा र १ वटा पालिका स्तरीय आमा समूहको शसक्तिकरण कार्यक्रम समेत सम्पन्न गरेको छ ।

प्रशासीकय अधिकृत कार्कीका अनुसार ८९ जना बेरोजगार परिचालन गरेर १४ वटा योजना निर्माण गर्दा ज्याला वापत ५१ लाख ५५ हजार ७५१ रुपैयाँ खर्च भएको छ । पालिकाबाट श्रम स्विकृति दिन शुरु गरेर ९२९ जना बेरोजगार सुचिकृत गरिएको छ ।

सार्वजनिक भएको प्रतिवेदन र गाउँपालिकाको सेवा प्रवाहको विषयमा स्थानीयबासीहरुले गुनासो, सुझाव र प्रश्न समेत गरेको अधिकृत कार्कीको भनाइ छ । सन्तोष सुवेदीले लम्पी स्किन नियन्त्रण गर्न र कृषि उपजको बजारीकरणमा ध्यान दिन तथा दरवाङमा क्याम्पस सञ्चालन गर्ने योजना अघि सार्न सुझाव दिएका थिए ।

दुखुलेकका ओमकार रोकाले विपद्को जोखिम न्युनीकरणका लागि पीडितलाई सयममै सामग्री सहयोग नभएको, विद्युतीकरणमा ढिलाई र आलुले बजार नपाएको गुनासो व्यक्त गरेका थिए भने होटल व्यवसायी अमृत सापकोटाले दरवाङ बजारको घट्दो ब्यापारलाई चलायमान बनाउन पर्यटक भित्र्याउन पहल गर्न आग्रह गरेका थिए ।

गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले सहभागिहरुले गरेका प्रश्नको जवाफ दिदै नदीजन्य बस्तुको चोरी निकासी हुन नदिने, दरवाङ बजारलाई चलायमान बनाउन आधारभूत अस्पताल सञ्चालन गर्न लागेको, उत्पादीत कृषि उपजको बजारीकरण गर्न व्यवसायीसँग समन्वय गर्ने बताएका थिए । यस्तै जवाफका क्रममा दरवाङ बजारमा नाली निर्माण र सडकलाई पक्कि बनाउने कामलाई प्रदेश सरकार मार्फत चालु आर्थिक वर्षमा पूर्णता दिने बताउदै बजारभित्र सडक विस्तारका क्रममा सहयोग गर्न अपिल समेत गरेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *