संकल्प बिशेष

समाचार संग्रह : संकल्प खबर विशेष मुख्य १० समाचार

साउन १६ गते मंगलबार : संकल्प खबरले दिनभरि देशभरमा भएका १० मुख्य समाचार तयार पारेको छ । दिनभरि घटेका घटनालाई एक साथ हेर्न मिल्ने गरि संकल्प विशेषलाई ध्यान दिदैँ मुलुकमा घटेका मुख्य समाचारलाई समेटिएको हो ।
हेर्नुहोस संकल्प खबरका १० मुख्य समाचारः

कोशी प्रदेशमा फेरि उद्धव थापा मुख्यमन्त्री नियुक्त

काठमाडौं । कोशी प्रदेश सरकारमा फेरि उद्धव थापा मुख्यमन्त्री नियुक्त भएका छन्। कोशी प्रदेशसभाका नेपाली कांग्रेस संसदीय दलका नेता थापा गठबन्धन दलबाट मुख्यमन्त्री बनेका हुन् ।

कोशी प्रदेशमा बहुमतको सरकार बनाउन सत्तारुढ गठबन्धनले दाबी पेस गरेको थियो । मंगलबार प्रदेश प्रमुख परशुराम खापुङसमक्ष कांग्रेसका उद्धव थापाले मुख्यमन्त्रीमा दाबी पेस गरेसगैँ मुख्यमन्त्रीको समर्थनका लागि उनलाई कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका प्रदेशसभा सदस्यहरुले समर्थन गरेका छन् । मुख्यमन्त्रीमा दावी पेश गरेपछि प्रदेश प्रमुख खापुङले कांग्रेसका थापालाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

सर्वोच्च अदालतले मुख्यमन्त्रीको नियुक्ति बदर गरेको ६ दिनपछि नेपाली कांग्रेस संसदीय दल कोशीका नेता उद्धव थापा मुख्यमन्त्री पुन नियुक्त भएका छन् । असार २१ गते प्रदेशसभाका सभामुख बाबुराम गौतमको हस्ताक्षरसहित बहुमत पेश गरेर कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका थिए । सभामुखको हस्ताक्षर सहित सरकार गठन हुनु संविधान विपरित भएको भन्दै नेकपा एमाले कोशी प्रदेश सरकारका पूर्वमुख्यमन्त्री हिक्मतकुमार कार्कीले अदालतमा रिट दायर गरेपछि सर्वोच्च अदालतले कोशी प्रदेश सरकारलाई दिर्घकालिन असर पर्ने काम नगर्न समेत आदेश दिएको थियो ।

पेट्रोलको मुल्य साढे ८ रुपैयाँले बढ्यो

भारतबाट पेट्रोल डिजेल र मटिट्तलेको मूल्य वृद्धि भएर आएको छ । मंगलबार इन्डियन आयल कर्पोरेशनले पठाएको नयाँ मूल्यसुचीअनुसार डिजेल पेट्रोल र मटितेलको मूल्य वृद्धि भएर आएको निगमले जनाएको छ ।

मंगलबार भारतबाट आएको मूल्यसुची अनुसार पेट्रोलममा साढे ८ रुपैयाँ, डिजेलमा सात र मटिटतेलमा साढे सात रुपैयाँ बढेर आएको निगमले जनाएको छ । त्यस्तै हवाइ इन्धनमा साढे आठ रुपैँया वृद्धि भएको छ । एलपीजीमा १०० रुपैयाँ मूल्य घटेर आएकाले निगमले सोही अनुसार एलपीजीको मूल्य घटाउने तयारी गरेको छ ।

संवैधानिक परिषद् बैठक निष्कर्षविहीन, अर्को बैठक १८ गते बस्ने

संवैधानिक परिषद् बैठकको बैठक निष्कर्षविहीन टुंगिएको छ । मंगलबार प्रधानन्यायाधीशको नाम सिफारिस गर्नेबारे छलफलका लागि प्रधानमन्त्रीको कार्यालय सिंहदबारमाबसेको बैठक विनानिष्कर्ष टुंगिएको हो ।

राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाका अनुसार अब अर्को बैठक साउन १८ गते ५ बजे बस्ने भनिएको छ ।

आगामी बैठकमा प्रधानन्यायाधीशसहित अन्य संवैधानिक पदमा नियुक्तिबारे छलफल हुने जनाइएको छ । प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको कार्यकाल सकिन अब ४ दिनमात्रै बाँकी छ । उनको कार्यकाल सकिनु भन्दा एक महिना अगाडी नै नयाँ सिफारिस भइसक्नुपर्नेमा अहिलेसम्म पनि भएको छेन् ।

संविधानको धारा १२९ अनुसार सर्वोच्च अदालतको न्यायाधीश पदमा कम्तीमा ३ वर्ष काम गरेको व्यक्ति प्रधानन्यायाधीशको पदमा नियुक्त हुन योग्य हुने व्यवस्था छ । हाल सर्वोच्च अदालतमा तीन वर्ष अवधि पार भएका ११ जना न्यायाधीश रहेका छन् ।

महानगरलाई उच्च अदालतको आदेश –मध्य बानेश्वरको अवैध टहरा तत्काल नभत्काउनु

काठमाडौंको मध्यबानेश्वरमा करिब १० आना जग्गामा निर्माण गरिएका घर टहरा तत्काल नभत्काउन उच्च अदालत पाटनले अल्पकालीन आदेश जारी गरेको छ । सोमबार उच्च अदालतले पाटनले मध्यबानेश्वर सडकको ह्वाइट हाउस कलेजसँगै सतिशाल मार्गमा रहेको सार्वजनिक जग्गामा बनाइएका घरटहरा नभत्काउन अदालतले आदेश दिएको हो ।

आफनो जग्गा दाबी गर्दै आएका विश्वनाथ (जनार्दन) आचार्यले काठमाडौं महानगरपालिकालाई विपक्षी बनाएर उच्च अदालत पाटनमा रिट दायर गरेपछि न्यायाधीश दीपेन्द्र अधिकारीको एकल इजलासल उक्त रिटमाथि अल्पकालीन आदेश जारी दिएको हो ।

कांग्रेसले पार्टी हितविरुद्ध काम गर्नेको सदस्यता नवीकरण नगर्ने

नेपाली कांग्रेस चितवन शाखाले गत निर्वाचनमा पार्टीका उम्मेदवारलाई मतदान नगर्ने क्रियाशील सदस्यहरुको सदस्यता नवीकरण नगर्ने भएको छ । उक्त शाखाले साठी प्रतिशत हाराहारी क्रियाशील सदस्यको मात्रै नवीकरण गर्ने तयारी गरेको हो ।

चौथो महाधिवेशनमा उक्त शाखाले २८ हजार दुई सय जनाको क्रियाशील सदस्यता तय गरेको थियो । क्षेत्र नं २ मा भएको उपनिर्वाचनमा चारवटा वडामा क्रियाशील सदस्यभन्दा कम मत पार्टीका उम्मेदवारले पाएकाले क्रियाशील सदस्य नवीकरणमा कडाइ गर्न लागिएको हो ।

जिल्ला सभापति राजेश्वर खनालका अनुसार यही साउन ६ गतेदेखि सबै वडामा सदस्यता नवीकरण अभियान थालिएको छ । हालसम्म ५० प्रतिशत हाराहारीले नवीकरण गरेको तथ्याङ्क छ । केही समय थप गरेर नवीकरण टुङ्ग्याउने पार्टीको तयारी छ । यद्यपि पार्टीका उम्मेदवारलाई भोट नहाल्नेलाई कुनै हालतमा पनि नविकरण नगर्न वडाहरुलाई भनिएको छ । जिल्ला समितिले स्वघोषणापत्रमा सदस्यताको अनिवार्य हस्ताक्षर हुने गरी फारम पठाएको छ ।

नक्कली शरणार्थी प्रकरणमा मुछिएका बालकृष्ण र टोपबहादुरसहित उच्च अदालत पुगे

नक्कली शरणार्थी प्रकरणमा थुनामा रहेका पूर्वगृहमन्त्री , पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी सहितको टोली जिल्ला अदालत काठमाडौंको आदेशविरुद्ध उच्च अदालत पाटन पुगेका छन् । आफूहरुलाई थुनामा राख्ने आदेश गलत भएको भन्दै नक्कली शरणार्थी प्रकरणमा मुछिएका नेताहरु उच्च अदालत पाटन पुगेका हुन ।

उच्च अदालत जानेहरुमा तत्कालीन उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, तत्कालीन गृहमन्त्री बालकृष्ण खाँण, नेपाल सरकारका सचिव टेकनारायण पाण्डे, पूर्वसांसद आङटावा शेर्पा, यो प्रकरणका विचौलिया केशव दुलालसहित थुनामा रहेका अभियुक्तहरु रहेका छन् ।

थुनामा रहेका प्रतिवादीहरुले जिल्ला अदालत काठमाडौंको आदेशविरुद्ध केही दिनअघि नै रिट निवेदन दर्ता गरेको उच्च अदालत पाटनका रजिष्ट्रार ठगिन्द्र कट्टेलले जानकारी दिए । उनका अनुसार आरोपीहरुविरुद्ध अबको एक हप्तापछि पेशी तोकिने भएको छ ।

नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम सरकारमा जान सहमत, सरकारले पूर्णता पाउने

नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम सरकारमा जाने विषयमा सहमत भएको छ । सोमबार र मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सहजीकरणमा बालुवाटारमा बसेको बैठकमाबाट यस्तो सहमति निस्किएको स्रोतले जनाएको छ । दुई दिन सुदुरपश्चिम सरकारका विषयमा मुख्यमन्त्री कमलबहादुर शाह र नागरिक उन्मुक्ति पार्टीबीच भएको छलफलपछि सहमति जुटेको हो ।

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीका अनुसार छलफलपछि सरकारमा जाने विषयमा सहमति भएको छ । दुई वटा संसदीय समितिको सभापति, एक मन्त्रालय, १ राज्यमन्त्री र उपसभामुख दिने सहमति भएकाले सुदुरपश्चिम सरकारले पूर्णता पाउनेछ ।

सुदुरपश्चिम प्रदेशमा नागरिक उन्मुक्ति पाटीका ७ जना सांसदमध्ये २ जना सांसदलाई यसअघि नै संसदीय दलको नेता र प्रमुख सचेतकको जिम्मेवारी प्रदान गरिसकिएको छ ।

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले सुदुरपश्चिम सरकामा जानका लागि गत साउन ९ गते पनि १ मन्त्री र १ राज्यमन्त्रीको शपथको तयारीमा पुगेका सांसदहरुलाई फिर्ता बोलाएकी थिइन् । दुई सांसदलाई फिर्ता बोलाएपछि मुख्यमन्त्री शाहलाई अध्यक्ष श्रेष्ठले सरकारमा सहभागी नहुने जानकारी दिदैँ पत्र पठाएकी थिइन् ।

राष्ट्रपति पौडेललाई कोप–२८ मा निमन्त्रणा

राष्ट्रपति रामचन्द्र पौडेललाई जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय शिखर सम्मेलन कोप–२८ मा निमन्त्रणा गरिएको छ ।

संयुक्त राष्ट्र जलवायु परिवर्तन सम्मेलन आगामी नोभेम्बर ३० देखि डिसेम्बर १२ तारिखसम्म संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईमा हुँदैछ । नेपालका लागि यूएईका राजदूत अब्दुल्ला सइद मुबारक जर्वान अल शाम्सीले आज राष्ट्रपतिसँग भेट गरी सो निमन्त्रणा गरेको राष्ट्रपतिका परराष्ट्र विज्ञ डा सुरेश चालिसेले जानकारी दिए ।

विश्व जलवायु कार्य शिखर सम्मेलनमा सहभागी हुन संयुक्त अरब इमिरेट्सका राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नाह्यानले पठाएको पत्र राष्ट्रपति पौडेललाई राजदूतले हस्तान्तरण गरेका हुन ।

रामपुरको अव्यवस्थित बसोबासीलाई पुर्जा वितरण

बसोबासीका लागि जग्गाधनी प्रमाण पुर्जा वितरणको काम सम्पन्न गरेको छ । नगरपालिकाभित्र सात सय दुई घरघडेरीको जग्गाधनी प्रमाण पुर्जा वितरण भएको छ ।

तत्कालीन समयमा रामपुर गाउँ पञ्चायत, गाउँ विकास समिति, रामतुलसी मावि, दरैठाँटी मावि, आधारभूत मावि, नवदुर्गा मावि, सहिद बहुमुखी क्याम्पसलगायतका शैक्षिक सङ्घसंस्थाले विद्यालय तथा क्याम्पस सञ्चालनका लागि घरघडेरी बिक्री गरेका हुन् । सो संस्थाले बिक्री गरेका घरघडेरीको सोमबार ८७ जग्गाधनी प्रमाण पुर्जा वितरण गरिएसँगै अव्यवस्थित बसोबासीलाई पुर्जा वितरणको काम रामपुरमा सम्पन्न भएको छ ।

नगरभित्रका सात सय ८३ मध्ये पहिलो चरणमा २०७९ पुस ८ गते एक सय ६४, दोस्रो चरणमा माघ १० गते ९८, तेस्रो चरणमा २०८० जेठ ५ गते तीन सय ५४, साउन १५ गते ८७ घरघडेरीलाई पुर्जा वितरण गरिएको छ । पाँच दशकअघिदेखिको समस्याका रूपमा रहेको अव्यवस्थित घरघडेरीलाई निकै चुनौतीका बाबजुद जग्गाधनी प्रमाण पुर्जा दिन सफल भएको रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले बताएका छन् । नगरपालिकाका वडा नं ५, ६ र ७ का सात सय ८३ घरघडेरीमध्ये ९७ प्रतिशत काम सम्पन्न भई प्रमाण पुर्जा प्रदान गरिएको उनको जानकारी दिए ।

नेप्से परिसूचक २८ दशमलव ५९ अङ्कले घट्यो

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक उच्च अङ्कले घटेको छ । आजको कारोबारमा नेप्से परिसूचक २८ दशमलव ५९ अङ्कले घटेर दुई हजार ७७ दशमलव ५८ को बिन्दुमा कायम भएको हो ।

नेप्सेका अनुसार आज विभिन्न दुई सय ६२ कम्पनीको ६० लाख १५ हजार ६७ कित्ता शेयर ४० हजार आठ सय ३७ पटक खरिदबिक्री हुँदा रू एक अर्ब ९२ करोड ४४ लाख ३४ हजार नौ सय बराबरको कारोबार भएको छ ।

आजको कारोबारमा म्युचुअल फन्ड समूहको उपसूचक शून्य दशमलव ०५ अङ्कले बढेको छ भने बाँकी सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै निर्जीवन बीमा समूहको उपसूचक दुई सय ७४ दशमलव ६४ र जीवन बीमा समूहको उपसूचक दुई सय २२ दशमलव ५३ अङ्कले घटको छ ।

बैंकिङ समूह १२ दशमलव २३, विकास बैंक ७६ दशमलव २५, वित्त ४५ दशमलव ०९, होटल तथा पर्यटन एक सय २३, जलविद्युत् २९ दशमलव ९६, लगानी शून्य दशमलव ७१ र उत्पादन तथा प्रशोधन समूह ७६ दशमलव ७७ अङ्कले घटेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *