मोरङ।कोशी प्रदेशमा सरकार गठनका लागि प्रदेश प्रमुखले दिएको समय सिमा आज बेलुका ५ बजे सकिदैछ ।
संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुई दलको समर्थनमा मुख्यमंत्रीमा नियुक्तिका लागि दाबी हुन नसके धारा १६८ को उपधारा ३ बमोजिम प्रदेश सभाको ठूलो दलका नेतालाई मुख्यमंत्रीमा नियुक्ति गर्ने प्रक्रिया शुरु हुने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।
कोशी प्रदेशको प्रदेश सभाको अंकगणितका कारण सजिलै सरकार बन्न सक्ने स्थिति छैन । विभिन्न दलहरु बीच वार्ता र सम्वाद भईरहेको भनिए पनि ठोस निष्कर्ष नआई सकेको अवस्थामा आज बेलुका सम्म नयाँ सरकार कस्को बन्ने भन्ने चित्र स्पष्ट भईसकेको छैन ।
९३ सदस्यीय कोशी प्रदेशमा नेकपा एमालेको ४०, नेपाली कांग्रेसको २९, माओवादी केन्द्रको १२, राप्रपाको ६, नेकपा एकिकृत समाजवादीको ४ र जनता समाजवादी पार्टीको एक जना गरी ९२ जना र सभामुख रहेका छन् ।
कोशी प्रदेशमा सरकार गठनको दाबीका लागि ४७ जना सांसदहरु आवश्यक रहेकोमा दुबै गठबन्धनमा ४६/४६ जना मात्र सांसद रहेकाले सरकार गठनको गाँठो नफुकेको हो ।
सर्वोच्च अदालतले साउन १७ गते सम्म नयाँ सरकार गठन गरिसक्न परमादेश दिएकोले प्रदेश प्रमुखको कार्यालयले संविधानका धारा १६८ को उपधारा २ वा ३ बाट सरकार गठन गरिसक्ने तयारी समेत गरेको छ ।
कांग्रेस र माओवादीका नेताहरू राप्रपालाई आफ्नो गठबन्धनमा ल्याउने कसरतमा छन्। राप्रपालाई गठबन्धनमा ल्याएर मुख्यमन्त्री बन्ने योजनामा कांग्रेस नेता थापा र माओवादी नेता आङ्बो छन्। थापाले खुलेरै आफ्नो नेतृत्वमा सरकार बन्ने दाबी गरिरहेका छन् भने आङ्बो पनि मुख्यमन्त्रीका लागि कसरत गरिरहेका छन्।
निर्णायक रहेकाले राप्रपाले पनि मुख्यमन्त्री हेरिरहेको छ। राप्रपा नेताहरू कांग्रेस र माओवादी गठबन्धनसँग मुख्यमन्त्रीका लागि ‘बार्गेनिङ’ मा छन्।




