काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का सांसद प्रदीप यादवले प्रमुख निर्वाचन आयुक्तलाई महाभियोग लगाउन माग गरेका छन्। संसदमा बैठकमा बोल्दै बुधबार उनले चरित्रहत्या गर्ने मनसायले विज्ञप्ति निकालेर आफ्नो मानहानी गरेको आरोप लगाए।
‘जनप्रतिनिधिको चरित्र हत्या गरेर निर्वाचन आयुक्तले विज्ञप्ति निकालेका छन्। हामीले समयमै निर्वाचन खर्चको विवरण पेस गरेका छौं। जिल्ला निर्वाचन कार्यालयमा त्यसको रेकर्ड पनि छ। फेसबुकमार्फत् पनि सार्वजनिक गरेका छौं। तर कानुनको आफैं व्यख्या गरेर निर्वाचन आयुक्तले जरिवना तोकेका छन्। त्यो खेदजनक छ। प्रमुख निर्वाचन आयुक्तलाई माफी माग्न अनुरोध गर्दछु। माफी माग्नुभएन भने त्यस्ता प्रमुख आयुक्तलाई मानहानी मुद्दा ठोक्नुपर्छ कि महाभियोग लगाउनुपर्छ,’ उनले भने।




