पर्यटन

चराचुरुङ्गीले सफा गर्ने म्याग्दीको ‘बराह ताल’

म्याग्दी । शिरानमा घना जंगल । पूर्वतर्फ मोहोडा गरेको सुन्दर समथर फाँट। जताततै हरियाली नै हरियाली । गुजुल्टो परेको बस्ती । बस्तीको माथिल्लो र जंगलको तल्लोपट्टि उत्तर–पश्चिम लमतन्न फैलिएको नेपालको नक्सा आकारको निस्कोट बराह ताल ।

म्याग्दीको मालिका गाउँपालिका–१ मा पर्ने निस्कोट गाउँको शिरानमा रहेको बराहताल अलि टाढाबाट हेर्दा नेपालको नक्साजस्तै देखिन्छ । यो तालमा धौलागिरि हिमालको प्रतिविम्ब स्पष्टसँग देखिने हुनाले यस ताललाई ‘हिमालको ऐना’ पनि भनेर चिनिन्छ ।

निस्कोट सामुदायिक वनको पुछारमा रहेको यो ताल उत्तरपश्चिम भएर फैलिएको छ । क्षितिजमा धौलागिरि हिमाल देखिन्छ भने सोही हिमालको प्रतिविम्ब तालमा देख्दा यहाँ पुग्ने आन्तरिक पर्यटक छक्कै पर्ने मालिका–१ का वडाध्यक्ष टंकप्रसाद पुनले बताए । उनका अनुसार गाउँको शिरानमा र जंगलको पुछारमा रहेको यो ताल कहिल्यै पनि फोहर हुँदैन । यहाँ जंगलका पात पतिंगर परिहाले भने पनि पंक्षी (चरा) हरूले चुच्चोले टिपेर बाहिर फ्याक्ने गर्दछन् ।

निस्कोट गाउँमा पुगेपछि घना वनजंगलको बीच भाग र केही मानवबस्ती रहेको ठाउँमा बराहतालको लोभलाग्दो दृश्य हेर्न पाइन्छ । समुद्री सतहदेखि दुई हजार तीन सय मिटरको उचाइमा अवस्थित बराहताल र तालको आसपासबाट मनोरम हिमशृङ्खला देखिन्छन् ।

बराहताल क्षेत्रबाट संसारको सातौँ तथा नेपालको दोस्रो अग्लो चुचुरो धौलागिरि हिमालको साथै गुर्जा, नीलगिरि, अन्नपूर्ण, माछापुच्छ्रे, मानापाथीलगायतका आधा दर्जनभन्दा बढी हिमाल र मनोरम दृष्यको प्रत्यक्षरूपमा अवलोकन गर्न सकिने वडाध्यक्ष पुनले बताए । बराहतालमा वन जंगल र हिमालसमेत आकर्षकरूपमा देखिने निस्कोटका स्थानीय रमेश पुनले बताए । रोमाञ्चक भू–बनोट, हरियाली र विविधताले युक्त सुन्दर गाउँ, मनमोहक प्रकृति र यही प्रकृतिको नेरोफेरोमा रहेको चित्ताकर्षक बराहतालले अहिले पर्यटकलाई पर्खिरहेको छ ।

पर्यटकीय हिसाबले प्रचुर सम्भावना बोकेको र मौसम खुलेको समयमा आँखै अगाडि सेताम्मे हिमालको लर्कन देखिने निस्कोटको बराह तालमा थोरै पर्यटक पुग्छन्। भौगोलिकरुपमा विकट र प्रचारप्रसारको अभावमा थोरै पर्यटक पुगे पनि यहाँ पुग्ने पर्यटक मज्जाले रमाउने गर्दछन्।

झण्डै दुई रोपनीको क्षेत्रफलमा फैलिएको बराहतालको आवश्यक संरक्षण, प्रचारप्रसार तथा प्रवर्द्धन गर्नुपर्ने आवश्यकता रहेको स्थानीयवासी बताउँछन्। हिमालको वरिपरि लुकामारी खेलिरहने बादलको घुम्टोले अझै सुन्दरता थपिदिन्छ। पहाड र आकाश जोडिएको क्षितिजमा पर्ने हिमाल अनि तालमा देखिने हिमालको दृष्यले त्यहाँ पुग्नेलाई अचम्मित बनाउँछ।

निस्कोट गाउँमा पुग्ने जो कोही पनि बराहतालको अवलोकन गर्न तथा ताललाई पृष्ठभूमिमा पारेर फोटो र सेल्फी खिच्न भनेर त्यहाँ जाने गरेका छन्। निस्कोट गाउँबाट आधा घण्टाको दूरीमा पर्ने बराहताल स्थानीयका अनुसार झण्डै २० फिट गहिरो रहेको अनुमान गरिएको छ।

निस्कोट मालिका गाउँपालिकाको दक्षिण भागमा पर्दछ । कूल १७ दशमलव तीन वर्गकिमीमा फैलिएको निस्कोटमा जम्मा एक हजार नौ सय ९४ जनसङ्ख्या रहेको छ। जसमध्ये महिला एक हजार २६ र पुरुष नौ सय ६८ रहेका छन्। यो वडा मंगला गाउँपालिका र बागलुङ जिल्लासँग जोडिएको छ। निस्कोटमा मकै, कोदो, गहुँ, जौ, बाली हुन्छ। साउन महिनामा निस्कोटमा रहेको बराहतालको दृृष्य निकै नै रमणीय देखिने स्थानीय वुद्ध विकले बताए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *