राजनीति

विश्वकै अग्लो बुद्व मूर्ति निमार्ण गर्ने माधव नेपालको सपना

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल कपिलवस्तुमा सिद्धार्थ गौतम बुद्धको मुर्ति विश्वमा नै अग्लो बनाउने विषयले अहिले चर्चा पाएको छ ।

माधवकुमार नेपालले सिद्धार्थ गौतम बुद्धले २९ वर्ष बिताएको कपिलवस्तु नगरपालिकामा संसारकै अग्लो बुद्ध मूर्ति बनाउने सपना देखेका छन् । सोही सपना पुरा गर्नका लागि अन्तर्राष्ट्रिय बुद्धिष्ट सेन्टरका अध्यक्ष समेत रहेका नेपालले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बुद्ध मूर्ति पार्क संग्रहालयसहित तयार गुरुयोजनाको प्रारम्भिक अवधारणा समेत प्रस्तुत गरेका छन् । बुद्धले २९ वर्ष बिताएको कपिलवस्तुमा संसारकै अग्लो बुद्धमूर्ति निर्माणले विश्वमा नयाँ कीर्तिमान कायम गर्ने पूर्वप्रधानमन्त्री माधव नेपालले बताए ।

उनका अनुसार नेपालमा सबैभन्दा अग्लो मुर्ति बनाउन सकेको अवस्थामा नेपाललाइ सगरमाथाले मात्र होइन, बुद्धको संसारकै अग्लो बुद्ध मूर्तिले भएको देश नेपालको रुपमा पनि चिनिने बताए ।

सेन्टरले यो विषयमा काठमाडौंमा छलफल आयोजना गरेर कार्ययोजनासमेत बनाएको हो । नेपालको तर्फबाट जग्गा प्राप्तिको प्रक्रिया समयमा नै पुरा भएको अवस्थामा कपिलवस्तुको बाणगंगा नदी किनारमा आगामी ७ वर्षको अवधिमा २४५ मिटर अग्लो बुद्ध मूर्तिसहितको पार्क बन्ने कार्ययोजना तय गरिएको सेन्टरका प्रमुख चोइङ क्विई सेङ स्टेवर्डले बताए ।

चिनियाँ मास्टर से डे युनले उक्त परियोजनाका लागि स्रोत जुटाउन कठिन नहुने धारणा प्रस्तुत गरेका थिए । कार्यक्रममा अवधारणाले डिटेल डिजाइन गर्न बुद्धिष्ट सेन्टर, वाइअप कम्पनी मलेसिया र टीआईडीए कन्स्ट«क्सन चाइनाबीच कार्य सम्झौता गरिएको समेत स्रोतले जनाएको छ ।

कार्यक्रममा कपिलवस्तुका प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री विष्णु पन्थी, लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु अवधेशकुमार त्रिपाठी, कोषाध्यक्ष सिद्धिचरण भट्टराई, योजना प्रमुख सरोज भट्टराई, कपिलवस्तुका मेयर सुदीप पौडेलसहितको टोलीको उपस्थिति रहेको थियो ।

कपिलवस्तु नगरपालिकामा २४५ मिटर अग्लो मूर्ति निर्माण गर्ने समझदारीपत्रमा हस्ताक्षर २०७९ चैत ३ गते भएको थियो । उक्त समझदारीपत्रमा अन्तर्राष्ट्रिय बुद्धिष्ट सेन्टरका प्रमुख चोइङ क्विई सेङ स्टेवार्ड, सेन्टरका नेपाल प्रतिनिधि मोहन गौतम र कपिलवस्तु नगरपालिकाका मेयर सुदीप पौडेलले हस्ताक्षर गरेका थिए ।

मेयर पौडेलका अनुसार बुद्धको मुर्ती निमार्ण क्षेत्रकै नमुना योजना हो । जसका लागि जग्गा व्यवस्थापन गर्न योजना तय भएको छ । वडा नं ६ र ९ मा पर्ने नदी उकास क्षेत्रको करिब ५० बिगा जग्गा पहिलो चरणमा हेरिएकाले त्यही नै छनोट हुनसक्ने संभावना छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *