राजनीति

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले भने– सांसद विकास कोषको रकम बढाउन सकिन्छ

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले ‘सांसद विकास कोष’ को रकम वृद्धि गरेर बजेट पारित गर्न सक्ने संकेत गरेका छन् । प्रदेश सभामा प्रस्तुत भएको बजेट अलपत्र परेपछि मुख्यमन्त्री शाहले सांसद विकास कोषको रकम बढाउन सकिने बताएका छन् ।

शुक्रबार गठबन्धनमा आबद्ध दलका नेताहरूको छलफलमा मुख्यमन्त्री शाहले प्रदेश सांसद कोषअन्तर्गत ३२ निर्वाचन क्षेत्रका लागि तीन करोडका दरले ९६ करोड बजेट विनियोजन गरेकोमा अब त्यसमा रकम बढाउन सकिने बताए ।

छलफलमा भौतिक पूर्वाधार विकासमन्त्री प्रकाश देउवा, माओवादी संसदीय दलका नेता खगराज भट्ट र नागरिक उन्मुक्ति संसदीय दलका नेता रामप्रकाश चौधरीलगायत उपस्थित थिए । मुख्यमन्त्री शाहले सत्ता गठबन्धनका सांसदहरुलाई बजेट पासमा सहयोग गर्न आग्रहसमेत गरेका थिए ।

प्रदेश सरकारले ल्याएको बजेटमाथि छलफलसमेत हुन सकेको छैन । सत्तारुढ दल कांग्रेस, माओवादीका सांसदसमेत बजेटको विरोधमा उत्रिएपछि बजेट पास हुन सकेको छैन । सांसद विकास कोषमा विनियोजन गरिएको बजेटलाई लिएर विरोध भइरहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *