काठमाडौं । नेपाली कांग्रेसले गत मंसिरमा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनको समीक्षा अहिलेसम्म गर्न सकेको छैन । चुनावका बेला गठबन्धन गर्ने या नगर्ने भन्ने तीव्र विवादकै बीच सभापति शेरबहादुर देउवाको अडानका कारण पाँचदलीय गठबन्धन बनेको थियो । तर निर्वाचन परिणामपछि कांग्रेसमा यसबारे छलफल भएको छैन ।
अहिले कांग्रेससमेत सहभागी सरकारले गरेका कामकारबाहीबारे पनि केन्द्रीय समितिमा छलफल भएको छैन । झन्डै एक वर्षदेखि बस्न नसकेको कांग्रेसको केन्द्रीय समिति बैठक बुधबार सुरु हुँदैछ । बैठकमा सभापति देउवाको कार्यशैली, मंसिरमा भएको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको समीक्षादेखि नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि कारागार चलान भएका बालकृष्ण खाणलाई कारबाही गर्नेबारे छलफल हुने भएको छ । साथै, नीति अधिवेशनको मितिसमेत तय गर्ने बताइएको छ ।
कांग्रेस नेताहरूले यसअघि भदौमा नीति महाधिवेशन हुने बताउँदै आएका थिए । कांग्रेसले १४औं महाधिवेशन सम्पन्न भएको ६ महिनाभित्रै नीति अधिवेशन गर्ने भनेको थियो । तर अझै यसको मिति घोषणा भएको छैन । अबको केन्द्रीय समिति बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले नीति अधिवेशनको मिति नै तोक्ने गरी तयारी गरेका छन् । नीति अधिवेशन नभए महासमिति बैठक बोलाउनुपर्ने दबाब महामन्त्रीहरूले दिइसकेका छन् । तर संस्थापन पक्षले भने नेतृत्वको बचाउको रणनीति लिएको छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका नेतालाई कारबाही नगरिएको तथा ललिता निवास प्रकरणमा पार्टीले स्पष्ट धारणा सार्वजनिक गर्न नसकेको भन्दै नेताहरूले नेतृत्वको आलोचना गरिरहेका छन् । भ्रातृ तथा शुभेच्छुक संस्था र विभागले पनि पूर्णता पाएका छैनन् । त्यसैले कांग्रेसमा नेतृत्वप्रतिको असन्तुष्टि पनि बढ्दो छ ।
केन्द्रीय समिति बैठकमा सरकारका कामको समीक्षासमेत हुने भएको छ । आगामी आर्थिक वर्षको बजेटमाथिको असन्तुष्टि पनि केन्द्रीय समिति बैठकमा उठाउने तयारी केही केन्द्रीय सदस्यले गरेका छन् । कांग्रेसका अधिकांश सांसदहरू अहिले सरकारले गरेका कामकारबाहीप्रति सन्तुष्ट देखिएका छैनन् । महामन्त्रीद्वय थापा र शर्मा तथा केन्द्रीय सदस्यहरूले संसद् बैठकमै सरकारको आलोचना गरेका छन् । आफ्नै पार्टीका अर्थमन्त्री भए पनि कांग्रेस सांसदहरूले आलोचना गर्न बाँकी राखेका छैनन् ।
कांग्रेस नेतृत्वलाई सुधार गर्ने भन्दै रूपान्तरण अभियान पनि जारी छ । संस्थापन इतर समूहका केही युवा नेताहरू यो अभियान लिएर देशव्यापी सुझाव बटुलेर फर्किएको छ । अभियानले मंगलबार काठमाडौंमा कांग्रेस केन्द्रीय समिति बैठकमा आफूले संकलन गरेको सुझावलाई बैठकको एजेन्डा बनाउन सुझाव दिएका छन् । जसअनुसार उनीहरूले बैठकअघि पार्टी सभापति शेरबहादुर देउवालाई सुझावको प्रतिलिपि हस्तान्तरण गर्ने भएका छन् ।




